शिक्षा नीति समाजसापेक्ष बनाउन राष्ट्रपतिको आग्रह
काठमाडौं,पुस २ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा नीति समाजसापेक्ष, बजारमुखी र प्रतिस्पर्धी बनाउन आग्रह गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहलाई सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्रसिद्ध विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, कर्मचारीका सामुन्ने नेपालीले हासिल गरेको ज्ञान, कला, सीप र क्षमतामा कुनै कमी हुन नहुने बताए ।
उनले शिक्षाको विकासमा सरकारले ठूलो लगानी गरेपनि प्रर्याप्त नभएको बताउँदै दीक्षित विद्यार्थीले प्राप्त गरेका ज्ञान, सीप, प्रविधि राष्ट्र निर्माणका लागि उपयोग गर्न आग्रह गरे । उनले भने, ‘सक्षम, सबल, तथा समृद्ध राष्ट्र निर्माणका लागि दीक्षित छात्रछात्राहरूको भूमिका महत्त्वपूर्ण हुनेछ । भोलि देशलाई कुन दिशामा लैजाने हो । त्यो तपाईंहरूकै हातमा छ ।’
राष्ट्रपति पौडेलले देशबाट मैले के पाए भन्दा पनि देशलाई मैले के दिए, के दिँदै छु र भविष्यमा के योगदान गर्न सक्नु भनेर सकारात्मक सोच लिनुपर्ने सुझाव दिए ।