१५५ प्रतिशत बढ्यो अलैंचीको मूल्य



काठमाडौं,पुस १। नयाँ उत्पादन बजारमा आउन थालेसँगै गतवर्षको तुलनामा अलैंचीको मूल्य १ सय ५५ प्रतिशतसम्म बढेको पाइएको छ । यस वर्ष अलैंची उत्पादनमा गिरावट आउने देखिएसँगै एकाएक मूल्य बढेको बताइएको छ । गतवर्ष प्रतिमन (४० किलो) २७ हजार रुपैयाँमा कारोबार भएको अलैंचीको मूल्य अहिले ६९ हजार रुपैयाँसम्म पुगेको छ ।

नेपाल अलैंची व्यवसायी महासंघले दिएको जानकारी अनुसार गतवर्ष जेजे (१ नम्बर) अलैंचीको बजार मूल्य प्रतिमन २७ हजार रुपैयाँ थियो । उत्पादन घट्ने देखिएपछि यस वर्ष जेजे अलैंचीको मूल्य प्रतिमन ६९ हजार रुपैयाँ पुगेको छ । गतवर्ष एसडी २ (नम्बर) अलैंची प्रतिमन २५ हजार रुपैयाँमा कारोबार भएको थियो । यसवर्ष एसडीको भाउ ६७ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी चलनचल्ती वा ३ नम्बर अलैंची गतवर्ष २३ हजार रुपैयाँ मनमा कारोबार भएकोमा यस वर्ष यसको मूल्य ६५ हजार रुपैयाँ छ ।

महासंघका उपाध्यक्ष सुवास भट्टराईले दिएको जानकारी अनुसार अलैंची फुल्ने समयमा मौसममा भएको खराबी र पूर्वी पहाडी जिल्लाका केही अलैंची खेतीमा पहिरोले समेत क्षति पुर्‍याएपछि उत्पादन घट्ने देखिएको छ । उनका अनुसार यस वर्ष अलैंची उत्पादन पोहोरको तुलनामा आधा मात्र हुने अनुमान गरिएको छ । सामान्यतया नेपालमा ६ हजारदेखि ८ हजार मेट्रिक टन अलैंची उत्पादन हुने गरेको तथ्यांक छ । पछिल्लो समय नेपालमा अलैंची उत्पादन हुने क्षेत्रफल समेत घट्दो क्रममा छ ।

आर्थिक वर्ष २०७५/७६ मा २० हजार ८८० हेक्टर जमिनमा अलैंची खेती गरिएको थियो । उचित बजार भाउको अभावमा त्यसपछिका वर्षमा क्रमश: घट्न थालेको खेती आर्थिक वर्ष २०७६/७७ मा आइपुग्दा १६ हजार ५६५ हेक्टरमा सीमित भयो । आर्थिक वर्ष २०७७/७८ मा १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा खेती भएको तथ्यांक छ । आर्थिक वर्ष २०७८/७९ मा आइपुग्दा भने खेती हुने क्षेत्रफल केही बढेको देखिन्छ त्यसवर्ष १७ हजार १५ हेक्टरमा अलैंची खेती गरिएको तथ्यांक छ । 

अलैंची व्यवसायी नरेन्द्र राईका अनुसार गत आर्थिक वर्षमा नेपाली अलैंचीले हलाल सर्टिफिकेट प्राप्त गरेसँगै खाडी मुलुकमा समेत निर्यातको बाटो खुलेको छ । यसअघि पाकिस्तानी र भारतीय बजारमा सीमित नेपाली अलैंची कतारलगायत अन्य खाडी मुलुकमा पुर्‍याउने बाटो खुले पनि नेपालले ती देशमा अलैंची निर्यात गर्न सकेको छैन ।

खाडी मुलुकसम्म निर्यात गर्न नेपाली निर्यातकर्ताको पहुँच नपुगेको राईले बताए । खाडी मुलुकमा निर्यातका लागि ढोका खोलिए पनि नेपालको भूपरिवेष्टित अवस्थितिले गर्दा निर्यात गर्न समस्या भएको हुन सक्ने उनको बुझाइ छ । 

प्रतिक्रिया दिनुहोस्