एमालेले सरकार छोडेको दुई वर्षमै देश कङ्गाल बन्यो: अध्यक्ष ओली
काठमाडौं,मंसिर ३० । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र डामाडोल अवस्थामा पुगेको बताए । एमालेले सरकारकार छोडेको दुई वर्षमै देशको कङ्गाल बन्न पुगेको उनको भनाई छ ।
पाँचथरको फिदिममा आयोजित वृहत् सभामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले अहिलेको गठबन्धन सरकार विदेशीको अगाडी बोल्न नसकेको आरोप लगाए । उनले भने, नेकपा एमालेले सरकार छोडेको दुई वर्षमै देश कङ्गाल बन्न पुगेको छ । देशको अर्थतन्त्र डामाडोल छ । विदेशीको अगाडी बोल्न नसक्ने कम्फर्टेवल सरकारका कारण राजनीतिक अन्यौलता र अराजकता बढ्यो ।’
गठबन्धन सरकारको अव्यवहारिक नीति र कार्यशैलीका कारण मुलुकको अर्थतन्त्र बिग्रँदै गएको उनको भनाई छ । अहिले सरकारले कर्मचारीहरूलाई तलब खुवाउन पनि गाह्रो भइरहेको अध्यक्ष ओलीले बताए । उनले भने, ‘गठबन्धन सरकारले गलत नीति अवलम्बन गर्दा देशको अर्थतन्त्र बिग्रँदो अवस्थामा छ । अहिले सरकारले कर्मचारीहरूलाई तलब खुवाउन तनखा खोजेर खुवाउनुपर्ने अवस्था पुग्यो ।’
एकल बहुमतको सरकार नबनेसम्म देशको विकास हुन नसक्ने उनको दाबी छ । उनले देश बनाउने सङ्कल्प बोकेर नै एमालेले अभियान थालनी गरेको अध्यक्ष ओलीले बताए । उनले भने, ‘देश बनाउने सङ्कल्प बोकेर एमालेले अभियान थालेको हो । एकल बहुमत सरकार नबनेसम्म देशको विकास हुन सक्दैन । यो सरकार जति धेरै टिक्यो उति अर्थतन्त्र ध्वस्त बन्यो ।’