सरकारले वान्छित सीमा भित्रै मूल्यवृद्धि टिकाउन कस्ता छन् चुनौतीहरू ?
काठमाडौँ,मंसिर ३०। लामो समयपछि नेपाली बजारको मूल्यवृद्धि दर (मुद्रास्फीति) मा चामात्कारिक गिरावट अर्थात् सुधार आएको छ । पछिल्लो २ वर्षसम्म निकै उच्च रहेको मुद्रास्फीति चालु आवको कात्तिक महिनामा भने ह्वात्तै घटेको हो ।
नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार कात्तिकमा मुद्रास्फीति ५.३८ प्रतिशतमा झरेको छ । जवकी यो गत साउनमा ७.५२ प्रतिशत, भदौमा ८.१९ प्रतिशत र असोजमा ७.५ प्रतिशत रहेको थियो ।
कात्तिकमा भने यसमा चमात्कारिक सुधार देखिएको हो । यो सरकारले तोकेको सीमा भन्दा पनि कम हो । सरकारले चालु आवमा मुद्रास्फीतिलाई ६.५० प्रतिशत भित्र कायम राख्ने भनेको थियो, त्योअनुसार सरकारले कात्तिकमा मुद्रास्फीतिलाई नियन्त्रणमा राखेको देखिन्छ ।
कोरोना काल साम्य हुन साथ सुरु भएको रसिया युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिले गर्दा विश्व बजारमै मूल्यवृद्धि भएको थियो, त्यसको असरले नेपालमा पनि पछिल्लो दुई वर्षसम्म मूल्यवृद्धि उच्च थियो । तर, अहिले त्यसमा सुधार भएको हो । अहिले विश्व बजारमै मूल्यवृद्धि घटी रहेको छ । २०२२ मा ९.१ प्रतिशत रहेको अमेरिकाको मुद्रास्फीति अहिले ३.२ प्रतिशतमा झरेको छ ।
यसरैगरि गत वर्ष २.७ प्रतिशत रहेको चीनको मुद्रास्फीति अहिले ०.२ प्रतिशतमा झरेको छ । गएको वर्ष ७.७९ प्रतिशत पुगेको भारतको मुद्रास्फीति अहिले ५.५५ प्रतिशत छ । यसैगरि जर्मनीको मुद्रास्फीति गत वर्ष ८.८ प्रतिशतसम्म पुगेको थियो । अहिले त्यो ३.२ प्रतिशतमा झरेको छ । यसैगरि गत वर्ष ६।१ रहेको फ्रान्सको मुद्रास्फीति अहिले ३।४ प्रतिशतमा झरेको छ । यसरी अहिले विश्व बजारमै मुद्रास्फीति घटेको छ । साथै, नेपालमा पनि कात्तिकमा मुद्रास्फीति घटेको देखिन्छ । गत वर्ष यसै महिनामा मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो ।
कात्तिक महिनामा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत पनि मरमसला उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.०० प्रतिशतले बढेको छ । समीक्षा महिनामा घ्यू तथा तेल र तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क क्रमशः १४.२३ प्रतिशत र ५.३५ प्रतिशतले घटेको राष्ट्र बैङ्कको भनाइ छ ।
यसैगरि गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको १०.७६ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ५.२७ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ । समीक्षा महिनामा यातायात उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क भने १.८६ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तैगरी, कात्तिक महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०० प्रतिशत देखिएको छ । यसैगरि तराईको ४.४२ प्रतिशत, पहाडको ६.०७ प्रतिशत र हिमालको ८.७९ प्रतिशत बराबरको मुद्रास्फीति रहेको राष्ट्र बैङ्कको भनाइ छ ।
समीक्षा अवधिमा थोक मुद्रास्फीति २.०९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको कात्तिक महिनामा भने यस्तो मुद्रास्फीति १०.०२ प्रतिशत रहेको थियो ।
बिशेषगरि समीक्षा अवधिमा तरकारीको मूल्य घटेको थियो । पेट्रोलियम पदार्थको मूल्य घट्दा ढुवानी खर्च कम भएको छ । यस कारण मूल्यवृद्धि दर कम भएको राष्ट्र बैङ्कको भनाइ छ । यसैगरि गत आवमा मूल्यवृद्धि उच्च थियो । त्यसको आधार प्रभावले पनि अहिले मूल्यवृद्धि कम भएको राष्ट्र बैङ्कका अधिकारीहरू बत्ताउँछन् ।
तर, फेरी मूल्यवृद्धि बढ्ने जोखिम
यद्यपि, अहिले मूल्यवृद्धि दर घट्यो भनेर खुसी हुने अवस्था भने छैन । पछिल्लो समय देखिएको परिस्थीतिअनुसार मूल्यवृद्धि पुनः उच्च हुने विज्ञहरू बत्ताउँछन् ।
भारतले प्याज निर्यातमा प्रतिबन्ध गरेसँगै नेपालको वैधानिक बजारमै यसको मूल्य आकासिएको छ । त्यसैगरि भ्याट प्रकरणले आलुको मूल्य पनि बढाइएको छ । यसका अलावा मङ्सिर महिनामा चामल, मसलाको मूल्य उच्च छ । त्योअनुसार मङ्सिर महिनाको तथ्यांकमा मूल्यवृद्धि पुनः उच्च देखिने सम्भावना रहेको राष्ट्र बैङ्कका एक उच्च अधिकारीले बताए ।