फोहोर व्यवस्थापन गर्न आफैँ सक्षम छौँ : काठमाडौँ महानगरपालिका



काठमाडौं,मंसिर ३० । काठमाडौं महानगरपालिकाले काठमाडौंको फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको बताएको छ ।

महानगरपालिकाले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा काम गरिरहेको नेपवेस्ट संस्था नभए फोहोरको समस्या समाधान नै नहुने हो की भन्नेकुरा गलत रहेको बताएको हो । 

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले फोहोर व्यवस्थापनका लागि महानगर आफैँ सक्षम भएको कारणले बञ्चरेडाँडामा कुनैपनि फोहोरजन्य चिजबाट समस्या नहुने गरी विभिन्न क्लस्टरहरु निर्माण गरिसकेका दाबी गरे । उनले फोहोरजन्य चिजलाई दीर्घकालीन रुपमा न्युनिकरण गर्नेतिर महानगरले काम गरिरहेको बताए ।

उनले भने, ‘‘काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको कुरा छ । यो नेपवेस्ट भन्ने संस्था हो । यो भन्दा पहिला नेपाल सरकारले लगानी बोर्डमा पास गरेर पठायो, त्यसमा अधुरा कुराहरु भएको कारणले लगानी बोर्डले निर्णय गर्न सकेन । नगरपालिकामध्येको महानगरपालिका भएको कारणले गर्दा यो प्रोजेक्टलाई महानगरपालिका भित्र ल्याइयो र यसलाई गहिरो अध्ययन गरिसकेपछि नेपवेस्ट भन्ने कम्पनी काठमाडौँ महानगरपालिका लगायतका लागि अझै अधुरै नीति नियम भएकाले फेरि यसलाई महानगरपालिका काठमाडौँले यसलाई नेपाल सरकारतिर नै लगिएको अवस्था छ ।’’ 

उनले भने, ‘‘त्यसको कारणले गर्दा बञ्चरे डाँडामा रहेका यी समस्याको समाधान नहोला भन्नेकुरा होइनन् । हामी आफैँ पनि सक्षम भएको कारणले बञ्चरेडाँडामा कुनैपनि फोहोरजन्य चिजबाट समस्या नहुनेगरी अब हामीले विभिन्न क्लस्टरहरु निर्माण गरिसकेका छौँ र फोहोरजन्य चिजलाई दीर्घकालीन रुपमा न्युनिकरण गर्नेतिर हामी अघि बढीसकेको अवस्था छ ।’’ 

यता काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले २९औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्नो कार्यकाल सकिन अझै साढे तीन वर्ष बाँकी रहेको र सो अवधिमा दीर्घकालीन रुपमा फोहोर व्यवस्थापन गरिसक्ने दाबी गरेका छन् ।

उनले फोहोर व्यवस्थापन दीर्घकालीन रुपमा गर्नेुपर्ने बताएका थिए । काठमाडौँ महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले समन्वय गरी काम गर्ने हो भने फोहोर व्यवस्थापन राम्रो र दिगोसँग गर्न सकिने उमको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्