शिक्षामा बाहिरिने रकम बर्सेनि बढ्दै : ४ महीनामा अध्ययनमा जाने नेपालीबाट विदेशियो साढे ३८ अर्ब
काठमाडौं,मंसिर ३० । पछिल्लो ४ महीनामा विदेशमा अध्ययन गर्न जाने नेपालीबाट करीब साढे ३८ अर्ब रुपैयाँ बाहिरिएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव)को साउनदेखि कात्तिकसम्म नेपालबाट शिक्षाका नाममा ३८ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको छ । यो रकम गत वर्षको सोही अवधिको तुलनामा ७० प्रतिशतले बढी हो । गत आवको पहिलो ४ महीनामा विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले २२ अर्ब ६८ करोड रुपैयाँ लगेका थिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार यो ४ महीनामा ३३ हजार ८६५ विद्यार्थीले बाहिरी मुलुकमा उच्च शिक्षा अध्ययनका लागि नो अबजेक्सन लेटर (एनओसी) लिएका छन् ।
विप्रेषण आप्रवाह पनि बढ्यो
यो अवधिमा विप्रेषण आप्रवाह पनि बढेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले बढेको छ । उक्त अवधिमा विप्रेषण आप्रवाह ४ खर्ब ७७ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो ।