सचेत रहन वैदेशिक रोजगार विभागको आग्रह
काठमाडौं,मंसिर २९। वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौता बमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउने काम भइरहेको विभागका प्रवक्ता तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिएका छन् ।
उनका अनुसार इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा इजरायलसँग छलफल भइरहे पनि यस विषयमा कुनै पनि निर्णय भइसकेको छैन । कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रम तथा अन्य क्षेत्रमा रोजगारीको अवसर भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेकाले सचेत रहन विभागले सूचनामार्फत आग्रह गरेको छ ।
यस्तो खालको ठगीका सम्बन्धमा सूक्ष्म अनुसन्धान भइरहेको र यस्ता सूचना तथा गिरोहको प्रलोभनमा नपर्न विभागद्वारा प्रकाशित उक्त सूचनामा भनिएको छ । इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति तथा समूहले गैरकानूनी रूपमा रकम उठाउने गरेको सूचना विभागमा आएको प्रवक्ता तथा सूचना अधिकारी उप्रेतीले बताएका छन् ।