एक सातामै ४० प्रतिशतले बढ्यो प्याजको भाउ, किन रोकिएन स्टक लुकाएर मूल्य बढाउने प्रवृत्ति ?
काठमाडौं,मंसिर २७। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा यसको मूल्य ह्वात्तै बढेको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा यसको अभाव देखाएर व्यापारीहरूले मूल्य बढाउने थालेका हुन् ।
नेपाल प्याजमा आत्म निर्भर छैन । वार्षिक झन्डै ७ अर्ब रुपैयाँको प्याज आयात नै गर्नुपर्छ । चालु आवको पहिलो चार महिनामा १ अर्ब ६२ करोड रुपैयाँका ३ करोड ९१ लाख केजी प्याज आयात भएको छ । अहिले भारतले प्याज निर्यात रोक्ने घोषणा गरेपछि केही दिन यता नेपाली बजारमा यसको मूल्य ह्वात्तै बढेको हो ।
बिशेषगरि व्यापारीले स्टकको प्याज लुकाएर यसको अभाव देखाएका छन्, त्यसपछि मूल्य बढाएर बिक्री गर्न थालेका छन् । पछिल्लो एक सातामा यसको औसत मूल्य ४० प्रतिशतले बढेको छ । गत साता आइतबार कालीमाटी तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो औसत १०० रुपैयाँ थियो । तर, बुधवार (आज) यसको मूल्य औसत १४० रुपैयाँ पुगेको छ । कालीमाटी बजारले आजका लागि प्याजको प्रतिकेजी न्यूनतम मूल्य १३५ रुपैयाँ र अधिकतम मूल्य १४५ रुपैयाँ तोकेको छ । गत साता आइतबार प्याजको न्यूनतम मूल्य ९५ रुपैयाँ र अधिकतम मूल्य १०५ रुपैयाँ थियो ।
अहिले नेपालमा मात्रै नभएर भारतमा पनि प्याजको उत्पादन घटेको छ । त्यसपछि भारतले स्वदेशी बजारमा प्याजको आपूर्ति पुरा गर्न निर्यातलाई निरुत्साहन गरेको थियो । यसअघि भारतले प्याज निर्यातमा ४० प्रतिशत भन्सार (कर) लगाएको थियो । तर, अहिले आएर आगामी मार्च सम्मको लागि भारतले प्याज निर्यात प्रतिबन्ध लगाएको छ । त्यसले गर्दा नेपालको आपूर्ति व्यवस्था बिग्रिएको छ । फलस्वरुप प्याजको अभाव भई मूल्य बढेको हो ।
केही दिन अघि मात्रै व्यापारीहरूले भ्याटको विषयलाई लिएर प्याजको कारोबार नै बन्द गरेका थिए । सरकारले चालु आवको बजेटमा प्याजको आयातमा १३ प्रतिशत भ्याट लगाएको छ । तर, अहिले आएर सरकारले स्वदेशी प्याजमा पनि भ्याट लगाएको भन्दै व्यापारीले यसको बिक्री रोकेका थिए । तर, बजारमा मनपरी मूल्यमा अवैध रूपमा प्याजको खरिद बिक्री भइरहेको थियो । भारतले आयात प्रतिबन्ध घोषणा गरेसँगै व्यापारीहरूले आफूसँग भएको स्टक प्याज लुकाउन थालिसकेका छन् । त्यसपछि बजारमा अभाव देखाई महँगोमा प्याज बिक्री भइरहेको छ ।
यसै पनि प्याजको मूल्य गत जेठ असार देखि नै बढ्दै आएको देखिन्छ । गत असार अन्तिम साता प्याजको मूल्य प्रतिकेजी ५० रुपैयाँ हाराहारी थियो । त्यसपछि पाँच महिनामा प्याजको मूल्य १०० रुपैयाँले बढेको देखिन्छ । यो दर त कालीमाटीमा बजारमा तोकिएको होलसेल रेट मात्रै हो । खुद्रा बजारका व्यापारीले भने अझै महँगोमा प्याज बिक्री गर्दै आएका छन् । खुद्रा बजारमा प्रतिकेजी १८० रुपैयाँसम्म मूल्य तिर्न परेको उपभोक्ताहरू बताउँछन् ।