नुवाकोटमा संचालित शिक्षक तालिम समापन 



नुवाकोट,मंसिर २७ । जिल्लाको विदुर नगरपालिकास्थित बट्टारमा भएको दुई दिने शिक्षक तालिम समापन भएको छ ।बट्टारस्थित होटल दरबार भ्यूमा मंगलबारदेखी शुरु भएको तालिम बुधबार समापन भएको हो । तालिममा जिल्लाको विदुर नगरपालिका, लिखु, ककनी र तादी गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयका २४ जना शिक्षकको सहभागिता रहेको थियोे ।

रुम टु रिड र रुडेक नेपालको सहयोगमा भएको तालिमलाई वरिष्ठ प्रशिक्षक एकराज कोइराला र बटुराम भण्डारीले प्रशिक्षण दिएका थिए । रुम टु रिड र रुडेक नेपालले आइतबार र सोमबार नुवाकोटका विभिन्न सामुदायिक विद्यालयका ४८ जना शिक्षकलाई पहिलो चरणमा तालिम प्रदान गरेको थियोे । बालबालिकाको शैक्षिक स्तर वृद्धिका लागि भाषा शिक्षण, पुस्तकालय व्यवस्थापन जस्ता कार्यक्रम सञ्चालन गर्दै आइरहेको संस्थाले विद्यालयमा पुस्तकालय स्थापना पश्चात् कसरी बालबालिकालाई पठन सीपको विकास गराउने भन्ने उदेश्यका साथ तालिमको आयोजना गरेको जनाएको छ।

समापन सत्रमा बोल्दै रुडेक नेपालका अध्यक्ष मिनकुमार केसीले बालबालिकालाई देशका लागि योग्य र कर्मठ तुल्याउन विद्यालय तहदेखि विभिन्न पुस्तक अध्ययनको अवसर दिलाएर सिर्जनात्मक बनाउन सकिने बताए । समापन सत्रमा रुम टु रिडका राधाकृष्ण हुमागाई,पुस्तकालय व्यवस्थापन तालिमका संयोजक मधुसूदन पौडेल, प्रशिक्षकहरु, प्रशिक्षार्थीहरु, सहजकर्ता लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्