विस्थापित हुँदै रेडियो



दोलखा,मंसिर २७ । कुनै जमानामा विश्वकै प्रभावशाली सञ्चार यन्त्र बन्न सफल रेडियो दोलखाबाट विस्थापित हुँदै गएको छ । सञ्चारले संसारलाई नै साँघुरो बनाउँदै गएको र अत्याधुनिक सञ्चार माध्यम भित्रिएकाले पनि रेडियो विस्थापित हुँदै गएको बताइन्छ । 

पहिला रेडियो यन्त्र नियमावलीबमोजिम दर्ता गराई १० रुपियाँ तिरेर अनुमतिपत्र बनाउनुपर्ने र नवीकरणसमेत गर्नु पर्दथ्यो । वैतेश्वर गाउँपालिका–६ का दुर्गाप्रसाद उप्रेतीले भन्नुभयो, “त्यति बेलाको सबैभन्दा महँगो तथा प्रख्यात नेसनल पानासोनी रेडियो किनेर बजाएँ । मायाले अझै राखेको छु । गाउँमै एउटा मात्र रेडियो भएकाले सुन्न आउनेको भिड लाग्दथ्यो । अहिले त्यही रेडियो म्युजियम सङ्ग्रहालयमा झैँ थन्किएको छ । 

विद्युत् प्रसार गाउँ गाउँमा पुगेकाले घर घरमा टेलिभिजन छन् । मोबाइलबाट एफएम रेडियो सुन्छन् । रेडियो किन्ने बजाउने जमाना नै रहेन । भीमेश्वर नगरपालिका–९ का अमृत खत्रीले भन्नुभयो, “खेतीपाती, धारापानी, उकालीओराली जता जाँदा पनि मोबाइल सेट साथमै रहन्छ । फोन पनि हुने, सुन्न मन लागे एफएम पनि सुनिन्छ । रेडियो त अब झन्झटिलो जस्तोसमेत भएको छ । त्यसैले पनि होला विस्थापित भएर गयो ।”

रेडियो पहिले जतिले किने किने, अब किन्दैनन् । बरु महँगै टेलिभिजन हेर्छन् । सुन्नै परे मोबाइल किन्छन्, बजाउँछन् । उत्तरी दुर्गम गाउँ गौरीशङ्करका थुन्डु शेर्पाले भने, “गाउँमा रहेका सानातिना खोलाबाट पानीघट्ट पनि चलाउने र बिजुली निकालेर टेलिभिजन हेर्ने तथा मोबाइल चार्ज गर्ने गर्छन् । अब गाउँमा रेडियो त छँदै छैनन् । कसैले किन्दैनन् पनि ।” 

अब त मोबाइलबाटै टिभीको पनि काम लिन सक्ने भएकाले टिभी पनि कमै बिक्ने गरेको सदरमुकाम चरीकोटमा पसल गर्ने नन्दलाल दाहालले बताए । 

लामो समयदेखि रेडियो मर्मत गर्दै आउनुभएका लालबहादुर श्रेष्ठले भने, “जानी नजानी मोबाइल मर्मत गर्न थालेको छु । बजारमा रेडियो आउनै छाडेको छ । रेडियो बनाउने त कसैका मुखबाट सुनिँदैन । जमानामा रेडियो बनाएर फुर्सदै नहुने दिन पनि थियो, अहिले हात बाँधेर बस्नु परेको छ । समयसापेक्ष चल्न नसके अब बाँच्न गाह्रो भयो ।” 

उन्नाइसौँ शताब्दीमा रेडियोको विकास भएको पाइन्छ । स्कटल्यान्डका भौतिकशास्त्री जेम्स सी म्याकवेलले सन् १८६० मा रेडियोको रूपरेखा कोरेका हुन् । उनकै सिद्धान्तलाई जर्मनीका भौतिकशास्त्री हेनरिकल हर्जले सन् १८९० मा तारमा व्यावहारिक रूपान्तरण गरेका हुन् । पछि सन् १८९५ मा गुग्लेमो मार्कोनीले ताररहित प्रणालीको माध्यमबाट सन्देश सम्प्रेषण गरेर विश्वलाई नै चकित पारेको १२८ वर्षपछि रेडियो विस्थापित नै हुने क्रममा छ ।

रेडियो लिनेहरू रेडियो विस्थापित हुन पुगेकोमा गुनासो गर्छन् । ठुलोपातालका डिल्लीराजले लिएको रेडियो लाइसेन्स जतनले राखेका छन् । तत्कालीन जिल्ला पञ्चायत र गाउँ पञ्चायतमा रेडियो दर्ता गरी लाइसेन्स लिएर मात्र रेडियो बजाउन पाइन्थ्यो । रेडियो राख्नेले १० रुपियाँ, बिक्री गर्नेले एक सय रुपियाँ र मर्मत गर्नेले ५० रुपियाँ तिरी लाइसेन्स लिनै पर्ने, नलिए एक सय रुपियाँ जरिबाना तिर्नुपर्ने व्यवस्थासमेत रहेको लाइसेन्समा उल्लेख गरिएको छ । भीमेश्वर नगरपालिका–६, रामकोटका ६३ वर्षीय कृष्णबहादुर केसी चरीकोट सातादोबाटोमा रेडियो बजाएर बसेका छन् । उनलाई आजकालका मोबाइलभन्दा रेडिया नै राम्रो लाग्छ । उनले भने, “आफ्नो जीवनभरि प्रयोग गरिरहन्छु । छोराछोरी, श्रीमतीले समेत छोडेका छन् । सबै पीर रेडियो सुनेरै बिर्सने गरेको छु । साìिवक भोजन गर्छु, मांसहारीको पैसाले ब्याट्री किन्ने गरेको छु । भारी बोकेर कहिलकाहीँ ५०÷६० रुपियाँ पनि आउँछ । यही मज्जा छ ।” 

भीमेश्वर नगरपालिका–३, चरीकोट बजारकी लक्ष्मीदेवी शर्माको अहिले रेडियो छैन तर उनले लाइसेन्स भने राखेका छन् । यो अभिलेखका रूपमा नातिपनातिले नि देखून् हेरून् भन्ने चाहनाले राखेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्