भारतले रोक्यो प्याज निर्यात: नेपाली बजारमा कृत्रिम अभाव, व्यापारीहरूले अस्वभाविक बढाए मूल्य
काठमाडौं,मंसिर २५ । भारत सरकारले प्याज निर्यात प्रतिबन्ध लगाएसँगै नेपालमा भने कृत्रिम अभाव सृजना गरी अस्वाभाविक रूपमा मूल्य बढाइएको छ ।
नेपाली व्यापारीहरूले एक सातामै प्याजको भाउ प्रतिकेजी दोब्बर बढाएका हुन् । एक साता अघिसम्म प्रतिकेजी १०० रुपैयाँभन्दा (९८ रुपैयाँसम्म) किनबेच भइरहेको प्याजको भाउ अहिले २०० रुपैयाँसम्म पुर्याएका छन् ।
यद्यपि, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीमा पनि प्याज (भारतीय सुकेको) औसत मूल्य १४१ रुपैयाँ कायम छ। तर, खुद्रा व्यापारीहरूले भने प्याज लुकाएर न्यूनतम १६० रुपैयाँदेखि अधिकतम २०० रुपैयाँसम्ममा बिक्री गरेका छन् ।
भारत सरकारले प्याज निर्यातमा आगामी मार्चसम्मका लागि भारतले प्याज निर्यातमा रोक लगाएको हो । ३१ मार्च २०२४ सम्म प्याज निर्यातमा प्रतिबन्ध गरेको हो । भारतले यसअघि गत भदौमा प्याज निर्यातलाई निरुत्साहन गर्न निर्यातमा ४० प्रतिशत भन्सार शुल्कको घोषणा गरेको थियो ।
नेपालमा ९० प्रतिशत हाराहारी प्याज भारतबाट नै आयात हुने गरेको छ । भारतीय बजारमा नै पूर्ण रूपमा निर्भर हुने भएकाले पनि नेपालमा मूल्य वृद्धि र कालोबजारी समेत हुने गरेको छ । हाल भारतीय बजारमा भने प्याजको भाउ प्रतिकिलो ८० भारु (नेपाली १२८ रुपैयाँ) पुगेको छ । नेपाली उपभोक्ताले नेपाली बजार प्याज लगायतमा भारतमाथि निर्भर छ । भारतीय बजारमा वस्तुको मूल्य वृद्धि हुँदा नेपालमा पनि बढ्ने गरेको छ । त्यसमाथि अहिले त भारतले यसको निर्यातमै प्रतिबन्ध गरेको छ । यसले नेपाली बजार निकै प्रभावित भएको छ ।
भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली व्यापारीहरू भने कृत्रिम अभाव सृजना गरी मूल्य पनि अस्वाभाविक रूपमा बढाएका छन् । यता, नेपाल सरकारले कृषि उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको भन्दै व्यापारीहरूले काठमाडौं उपत्यकामा तरकारी बिक्री वितरण समेत रोकेका छन् । सरकारले चालु आवको बजेट मार्फत प्याज र आलुमा १३ प्रतिशत भ्याट लगाउने नीति ल्याएको थियो । गत मङ्गलवारदेखि नै व्यापारीहरूले आलु प्याजको कारोबार ठप्प पारेका हुन् ।
तर, आन्तरिक राजश्व विभागले भने आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा मूल्य अभिवृद्धि कर नलाग्ने स्पष्ट पारिसकेको छ । व्यवसायीहरूले हडताल गरेपछि विभागले आलु र प्याजको बिक्रीमा भ्याट नलाग्ने भन्दै आपूर्ति सहज बनाएको छ । तर, पनि व्यापारीहरूले भने प्याजको कृत्रिम अभाव खडा गरी ह्वात्तै मूल्य बढाएका छन् ।