पर्यटन प्रवर्द्धन गर्दै धरानको श्रम संस्कृति उद्यान



धरान,मंसिर २४ । सुनसरीको धरान उपमहानगरपालिका–१३ मा निर्माण भएको श्रम संस्कृति उद्यान पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । धरान घुम्न आउने जो कोही पनि उद्यानमा पुग्ने गरेका छन् । उद्यान वरपर गरिएको वृक्षरोपणले सबैको मन आनन्दित हुन्छ । पहिला बगर र झाडी भएको ठाउँमा अहिले फूल र बोटबिरुवा हुर्केका छन् ।     

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र उनका सहयोगीले निर्माण गरेको उद्यान पछिल्लो समय धरानको नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । सर्दु खोलाको उजाड बगरमा फलफूलका बिरुवा रोपेर आकर्षक बगैँचा बनाइएको छ । बगैँचाको एक छेउमा धरानको पहिचान झल्किने गरी काठ काट्ने आरा धरानको नमूना निर्माण गरिएको छ । त्यसको छेउमा किरात संस्कृतिमा महत्वपूर्ण मानिने चिन्डोको आकृति झल्किने धारा बनाइएको छ ।

उद्यानको वरिपरि विभिन्न मनकारीले आफन्तका नाममा पर्यटकलाई बस्न मिल्ने गरी फाइबरका फलैँचा र कुर्सी निर्माण गरिदिएका छन् । उद्यानका ठाउँठाउँमा ‘साउन्ड बक्स’ राखिएका छन् । त्यसबाट संगीतको धुन गुञ्जिरहेको हुन्छ । शान्त र सुन्दर वातावरणमा सुमधुर संगीतको धुनले त्यहाँ पुग्ने पर्यटकको मनै आनन्दित हुन्छ । उद्यानमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म घुम्नका लागि पुग्ने गरेका छन् ।

उद्यान युवापुस्ताका लागि साथीहरुसँग घुम्ने आकर्षक गन्तव्य बनेको छ ।  धरान उपमहानगरपालिकाले उद्यान, यस क्षेत्रमा भएको वृक्षरोपण र खानेपानीको मुहान संरक्षण गर्न दैनिक छदेखि सात जना नगर प्रहरी परिचालन गर्ने गरेको छ । उद्यान क्षेत्रमा खटिएकी नगर प्रहरी कविता कार्कीका अनुसार यो क्षेत्र घुम्न दैनिक दुई सयदेखि तीन सय आन्तरिक पर्यटक आउने गरेका छन् । उद्यान घुम्न नेपालका विभिन्न जिल्लाबाट मात्र नभई भारतका सिक्किम, दार्जिलिङदेखि पनि पर्यटक आउने गरेका छन् । स्वतन्त्र नागरिक समाजको अगुवाइमा चौतारा निर्माण गरिएको छ । दाताको रु ११ लाख सहयोग जुटाएर चौतारा निर्माण गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्