एक महीनामा भारतीय ठूलो गोलभेडाको मूल्य ७६ प्रतिशतले बढ्यो
काठमाडौं,मंसिर १८ । पछिल्लो एक महीनामा भारतीय ठूलो गोलभेडाको मूल्य ७६ प्रतिशतले बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महीनामा भारतीय ठूलो गोलभेडाको मूल्य ७६.७४ प्रतिशतले बढेको छ । समितिका अनुसार गत महीनामा भारतीय ठूलो गोलभेडा ५३ रुपैयाँ प्रतिकिलो विक्री भएको थियो भने आज उक्त गोलभेडाको मूल्य ९५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।
विशेषगरी भोज, भतेरमा सलादको रूपमा प्रयोग हुने यो ठूलो गोलभेडाको मङ्सिर लागेसँगै माग पनि बढेको व्यापारीहरू बताउँछन् । मङ्सिरमा विवाह, व्रतबन्धको लगन धेरै हुने हुँदा यो बेलामा यसको माग बढेको र मूल्य पनि बढेको उनीहरूको भनाइ छ ।
नेपाली ठूलो गोलभेडाको पनि एक महीनामा १५ प्रतिशतले मूल्य बढेको छ । गत महीना ६५ रुपैयाँ प्रतिकिलो विक्री भएको नेपाली ठूलो गोलभेडा आज ७५ रुपैयाँ प्रतिकिलोमा विक्री भइरहेको छ । यस्तै, गोलभेडा सानो लोकल भने ५९ प्रतिशतले र गोलभेडा सानो टनेल ४२ प्रतिशतले मूल्य घटेको छ ।