चार महीनामा करीब ५० अर्ब बीमा शुल्क संकलन



काठमाडौं,मंसिर १४ । जीवन बीमा कम्पनीहरूले चार महीनामा करीब ५० अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ ओटा जीवन बीमा कम्पनीहरूले कात्तिक मसान्तसम्ममा ४९ अर्ब ४४ करोड रुपैयाँ बीमा संकलन गरेका हुन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा कुल बीमा शुल्क संकलन ७ दशमलव ४५ प्रतिशतले बढेको हो । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले ४६ अर्ब १ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । आर्थिक मन्दीको असर बीमा क्षेत्रमा परेकाले कम्पनीहरूको व्यापारमा प्रभाव परेको यस क्षेत्रका जानकारहरूले बताउँदै आएका छन् । 

प्राधिकरणका अनुसार चालु आवको चार महीनामा प्रथम बीमा शुल्क संकलन ५ दशमलव ३६ प्रतिशतले घटेको छ । चालु आवको चार महीनामा कम्पनीहरूले ८ अर्ब ६२ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् । 

चालु आवको चार महीनामा नवीकरण बीमा शुल्क संकलन १० दशमलव ६२ प्रतिशतले बढेको छ । चालु आवको चार महीनामा कम्पनीहरुले ४० अर्ब ८१ करोड रुपैयाँ नवीकरण बीमा शूल्क संकलन गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्