सुनको भाउले बनायो कीर्तिमानी उचाई, प्रतितोला १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार
काठमाडौं,मंसिर १३। नेपाल बजारमा सुनको मूल्यले नयाँ कीर्तिमानी उचाई कायम गरेको छ । पछिल्लो समय दैनिक नयाँ रेकर्ड कायम गरिरहेका सुनका भाउ बुधवार पनि अर्को कीर्तिमान कायम गरेको हो ।
आज छापावाल सुनको भाउ १ लाख १९ हजार ३०० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । अन्तर्राष्ट्रिय रुपमै सुनको भाउ महँगिएकाले त्यसको असर नेपाली बजारमा पनि देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुनसार विश्व बजारमामै सुन महँगीएकाले निरन्तर मूल्य वृद्धि भएको जनाएको छ ।
भारतीय रुपयेसँग विनिमय अंकुश गाँसिएको नेपाली मुद्राको निरन्तर अवमूल्यन् र अमेरिकी डलरको कीर्तिमानी महँगाईले पनि सुनको भाउ अझै उचाल्न बल दिइरहेको छ । रुस–युक्रेन र इजरायल–प्यालेस्टाईन युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएको छ । त्यसले अन्तरराष्ट्रिय रुपमै सुन महँगिएको छ ।
महासंघका अनुसार मंगलबार पनि छापावाल सुनको भाउ १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । तर, आज एकैदिन १ हजार ६०० रुपैयाँले बढेको हो ।
यस्तै, बुधवारका लागि तेजावी सुनको भाउ १ लाख १८ हजार ७५० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । nत्यस्तै, चाँदी पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ ।