विश्वकै ठुलो अर्थतन्त्र भएको अमेरिकासहित २६ मुलुकको व्यापार नेपालको पक्षमा, के-के लैजान्छन् ?



काठमाडौं,मंसिर १२ । विश्वका डेढ सय मुलुकसँगको व्यापारमा नेपाल दुई दर्जन मुलुकसँग मात्रै नाफामा छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालले ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँको आयात गरेको छ । तर, ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ ।

चालु आवको चार महिनामा भएको १४५ वटा बढी मुलुकहरूसँगको व्यापारमा नेपालले ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ ।  व्यापारमा आफूले सामान बिक्री गरी बढी पैसा पाइयो र अर्कालाई कम पैसा तिर्नुपर्‍यो भने व्यापार नाफा भनिन्छ । तर, भन्सार विभागको तथ्याङ्क अनुसार नेपालको अन्तर्राष्ट्रिय व्यापार ठुलो रकममा घाटामा छ ।  नेपालको सबैभन्दा ठुलो व्यापार घाटा छिमेकी दुई मुलुक भारत र चीनसँग छ ।

चालु आवको चार महिनामा भारतसँगको व्यापारमा नेपालले २ खर्ब ८१ अर्ब २ करोड ३६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । समीक्षा अवधिमा भारतबाट ३ खर्ब १४ अर्ब २ करोड ६८ लाख रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ । तर, ३३ अर्ब ३२ लाख रुपैयाँको मात्रै निर्यात भएको छ । आयातको तुलनामा निर्यात एकदमै न्यून भएकाले नै व्यापार घाटा धेरै भएको हो ।

यता, चीनसँग पनि ९९ अर्ब ४१ करोड ८१ लाख रुपैयाँको व्यापार घाटा छ । नेपालले चीनबाट चार महिनामा १ खर्ब २५ करोड ३६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । तर, ८३ करोड ५४ लाखको मात्रै निर्यात भएको छ । यी लगायतका १०० बढी मुलुकसँग व्यापारमा घाटा व्यहोरेको छ । 

तर, २६ वटा मुलुकसँगको व्यापार भने नेपालको पक्षमा देखिएको छ । नेपालले विश्वकै ठुलो अर्थतन्त्र भएको अमेरिका, डेनमार्क लगायतका मुलुकसँगको व्यापार नाफामा छ । 

भन्सार विभागका अनुसार सबैभन्दा धेरै नाफा भने अमेरिकीले दिलाएको छ । चार महिनामा नेपालले ६ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरको सामान बेचेको छ । तर, ४ अर्ब १२ करोड ९३ लाख रुपैयाँको मात्रै आयात गरेको छ ।  समीक्षा अवधिमा अमेरिकाको व्यापारमा नेपाल १ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ नाफामा देखिएको हो ।

नेपालबाट अमेरिकातर्फ सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा कार्पेट, गलैँचा, ऊनी र छुर्पी पर्छन् । यी नै वस्तुको निर्यात बढ्दा नेपाललाई अमेरिकासँगको व्यापारमा नाफा देखिएको हो । यसबाहेक नेपालबाट पास्ता, सुगन्धित तेल (अत्तर) हस्तकलाका सामग्री, हाते कागज, पस्मिना, कटनका कपडा, पस्मिनाबाट निर्मित सल र मफलर, सुनचाँदीका गरगहना, वाद्यवादनका सामग्री र ड्रइङ (पेन्टिङ) निर्यात हुन्छ । 

नेपालमा निर्मित पस्मिना, कार्पेट, गलैँचा र गरगहनाको ठुलो बजार अमेरिकामा देखिन्छ । नेपालको अमेरिकासँगको व्यापारलाई नाफामा पुर्‍याउन ठुलो योगदान दिएको छ । अमेरिकासँगको व्यापारमा विशेषगरि गलैँचा, कार्पेट र कुकुर बिरालोको आहारा निर्यातको उल्लेख्य योगदान देखिन्छ ।

यस्तै, डेनमार्कसँगको व्यापारमा पनि नेपालले ३ अर्ब ५ करोड बढीको नाफा गरेको छ । नेपालले डेनमार्क तर्फ लत्ताकपडा, काठको शिल्प, परम्परागत नेपाली हस्त निर्मित सामानहरू निर्यात गर्दै आएको छ ।

नेपालबाट अलैँची, भटमासको तेल, तयारी पोसाक, कपडा, उनी गलैँचा, पोलिस्टर धागो, पस्मिना, पिना, जसु लगायत वस्तु नै उच्च निर्यात हुने गरेको छ । यी वस्तुको निर्यातले केही मुलुकसँगको व्यापार नाफा पुगेको हो ।

यी हुन् नेपाललाई नाफा दिलाउँने मुलुकहरु

प्रतिक्रिया दिनुहोस्