बढ्दैछ काठमाडौं उपत्यकामा घर जग्गा व्यापार, कुन-कुन ठाउँमा हुन्छ बढी किनबेच ?



काठमाडौं,मंसिर १० । काठमाडौं उपत्यकामा चार महिनामा १३ बढी घर जग्गा किनबेच भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत साउनदेखि कात्तिक मसान्तसम्ममा काठमाडौं उपत्यकामा १३ हजार १३ हजार ३६२ वटा घर जग्गा किनबेच भएको हो । जुन गत आवको सोही अवधिको तुलनामा भने सामान्य वृद्धि भएको छ । गत आवको पहिलो चौमासिकमा पनि उपत्यकामा १३ हजार ५६ वटा घर जग्गा खरिद बिक्री भएको थियो । 

काठमाडौँ उपत्यकाको तीन जिल्लामा ९ वटा मालपोत कार्यालयहरू छन्, ती कार्यालयहरू मार्फत नै घर जग्गा किनबेच हुँदै आएको छ । कारोबारमा आएको सामान्य बढोत्तरीले पनि राजश्व वृद्धि भएको छ । चार महिनामा भएको कारोबारबाट कुल ५ अर्ब २६ करोड ५५ लाख ३७ हजार रुपैयाँ राजश्व उठेको छ ।

उपत्यकामा गत साउनमा ३ हजार ४१२ वटा, भदौमा ३ हजार ६४६, असोजमा ४ हजार २८४ र कात्तिमा २ हजार २० वटा घर जग्गा खरिदबिक्री भएको छ । यस्तै, गत आवको साउनमा ३ हजार २१६ वटा, भदौमा ४ हजार ३००, असोजमा २ हजार ७६१ र कात्तिकमा २ हजार ७७९ वटा घर जग्गा किनबेच भएको थियो ।

लगनखेल र भक्तपुर मालपोत कार्यालयबाट धेरै घर जग्गा कारोबार, गोटी खेलबाट कम 

चालु आवको पहिलो चौमासिकमा भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल र भक्तपुरबाट सबैभन्दा धेरै घर जग्गा किनबेच भएको छ।  

समीक्षा अवधिमा ललितपुरको लगनखेल कार्यालय मार्फत चार महिनामा ३ हजार १३१ वटा घर जग्गा किनबेच भएको छ । विभागका अनुसार सो कार्यालय मार्फत गत साउनमा ८३२, भदौमा ८४०, असोजमा ९५६ र कात्तिकमा भने ५०३ वटा घर जग्गा किनबेच भएको छ । चार महिनामा लगनखेल कार्यालयबाट कुल १ अर्ब १४ करोड १७ लाख ८४ हजार रुपैयाँ राजश्व उठेको छ ।

दोस्रो स्थानमा रहेको भक्तपुर कार्यालयबाट भने कुल ३ हजार ९५ वटा घर जग्गा खरिदबिक्री भएको छ । सो सङ्ख्यामा भएको कारोबारबाट भने ८४ करोड ३९ लाख ५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । भक्तपुर कार्यालय मार्फत गत साउनमा ७९८ वटा, भदौमा ८४० र असोजमा ९९५ वटा घर जग्गा किनबेच भएको छ। तर, गत कात्तिकमा भने घटेर ४६२ वटा मात्रै किनबेच भएको विभागको तथ्याङ्कमा उल्लेख छ।

उपत्यकामा धेरै घर जग्गा किनबेच हुने अर्को कार्यालय काठमाडौँको कलङ्की मालपोत रहेको छ । चालु आवको चार महिनामा कलङ्की मालपोत कार्यालय मार्फत २ हजार २२८ वटा घर जग्गा किनबेच भएको छ । समीक्षा अवधिमा कार्यालयले ७४ करोड ५३ लाख ९० हजार रुपैयाँ राजश्व उठाएको छ । सो कार्यालय मार्फत गत साउनमा ५३४, भदौमा ५९४, असोजमा ७२९ र कात्तिकमा ३७१ वटा घर जग्गा किनबेच भएको छ ।

विभागका अनुसार उपत्यकामा सबैभन्दा कम घर जग्गा कारोबार भने ललितपुरकै गोटी खेल मालपोत कार्यालयबाट भएको छ । चार महिनामा सो कार्यालय मार्फत ६६ वटा मात्रै घर जग्गा खरिदबिक्री भएको छ । सो बराबरको घर जग्गा किनबेचबाट भने १५ लाख ४९ हजार रुपैयाँ मात्रै राजश्व उठेको छ ।

यस्तै, मालपोत कार्यालय चाबहिलबाट १ हजार ४९८, साँखुबाट १ हजार ४३३, मनमैजुबाट ७३०, डिल्लीबजारबाट ६७६ वटा र टोखाबाट ४७५ वटा घर जग्गा किनबेच भएको छ । यी कार्यालयहरूबाट चालु आवको पहिलो त्रैमासमा क्रमशः ७८ करोड ७ लाख ८४ हजार रुपैयाँ, २५ करोड ५० लाख १५ हजार,  २२ करोड ३९ लाख १७ हजार, ९९ करोड १२ लाख ८३ हजार र २८ करोड १९ लाख रुपैयाँ राजश्व उठेको छ ।

प्रतिक्रिया दिनुहोस्