एन्टिबायोटिक औषधिको प्रयोग बढ्दा जनस्वास्थ्यमा असर



काठमाडौं,मंसिर ८। छिटो निको हुने बहानामा जथाभावी आफूखुशी एन्टिबायोटिक औषधिको प्रयोग बढ्दा जनस्वास्थ्यमा असर पुगेको एक कार्यक्रमका वक्ताले बताएका छन् । ‘विश्व प्रतिजैविक प्रतिरोध सचेतना अभियान’को पाँचौं दिनका दिन मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनकपुरमा आयोजना गरेको कार्यक्रमका वक्ताहरूले चिकित्सकले लेखेर दिएको औषधि मात्रै प्रयोग गर्न सुझाएका थिए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्रले जैविक प्रतिरोधका कारण हरेक वर्ष एक करोडभन्दा बढी मानिसको मृत्यु हुने गरेको बताए । एन्टिबायोटिक औषधिको दुरुपयोगलाई कडाइका साथ रोक्नुपर्ने उनको भनाइ थियो । सामान्य जानकारीका आधारमा पसलबाट सहजै एन्टिबायोटिक औषधि ल्याएर प्रयोग गर्दा मानव स्वास्थ्यमा दीर्घकालीन असरसँगै यसका कारणबाट मृत्युसमेत हुन सक्ने बताए । 

उनले मानव स्वास्थ्यसँगै मासुजन्य पशुपंक्षीमा समेत एन्टिबायोटिकको प्रयोग गरिरहेको बताए । मानव स्वास्थ्यदेखि पशुपंक्षीसमेतमा एन्टिबायोटिकको प्रयोगले दीर्घकालीन रोगलाई निम्तो दिइएकाले यस किसिमको कार्यलाई निरुत्साहित गरिनुपर्ने उनको भनाइ थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाका निर्देशक डा. राजीवकुमार झाले औषधि पसलमा सहजै एन्टिबायोटिक औषधि भेटिनु नै मानवजीवनको मुख्य चुनौती रहेको बताए । उनले अहिलेदेखि नै एन्टिबायोटिक प्रयोग न्यूनीकरण गरिएमा मानव स्वास्थ्यका लागि आउने दिनमा ठूलो समस्याबाट बच्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्