महीनामै ८८ प्रतिशतसम्म घट्यो हरियो तरकारीको भाउ
काठमाडौं,मंसिर ५। पछिल्लो एक महीनामै हरियो तरकारीको भाउ ८८ प्रतिशतसम्म सस्तिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार स्थानीय काउली, आलु, बन्दा, गाजर, मुला, लौका, घिउसिमी, फर्सी, साग लगायत अधिकांश तरकारीको भाउ ह्वात्तै घटेको छ । उत्पादन बढेर बजारमा यी तरकारीको आपूर्ति बढेकाले भाउ सस्तिएको हो ।
समितिको दैनिक मूल्य सूचीअनुसार यसबीचमा स्थानीय काउलीको भाउ सबैभन्दा ओरालो लागेको छ । गत कात्तिक ३ गते प्रतिकेजी ११२ रुपैयाँमा किनबेच भएको स्थानीय काउलीको मूल्य अहिले १२.५० रुपैयाँमा झरेको छ । १ महीनाअघि १०६ रुपैयाँमा किनबेच भएको गाजरको मूल्य घटेर प्रतिकेजी ५६ रुपैयाँमा आएको छ । त्यतिबेला २७ रुपैयाँ पर्ने लोकल मूलाको मूल्य प्रतिकेजी १२ रुपैयाँमा झरेको छ । यसैगरी २६६ रुपैयाँमा कारोबार भएको राजमाको मूल्य यतिबेला प्रतिकेजी ६६ रुपैयाँमा आएको छ ।
समितिका सूचना अधिकारी विनय श्रेष्ठले किसानले तिहारलाई लक्षित गरी उब्जाएको तरकारी एकैपटक बजारमा आउँदा मूल्य घटेको बताए । उनका अनुसार काउली, मुला, बन्दा जस्ता तरकारीको सिजन शुरू भएकाले पनि भाउ सस्तिएको हो । १ महीनाअघिको तुलनामा स्थानीय काउली, लौका, फर्सी लगायत तरकारीको आपूर्ति करीब दोब्बर पुगेको उनले जानकारी दिए ।
कात्तिक ३ गते कालीमाटीमा ३४ हजार ७७५ केजी स्थानीय काउली भित्रिएकोमा मङ्सिर ३ मा ६७ हजार ३०० केजी भित्रिएको समितिको तथ्यांकले देखाएको छ । कात्तिक ३ मा कालीमाटीमा १५ हजार ४०० केजी बन्दागोभी भित्रिएकोमा मङ्सिर ३ मा ३२ हजार ७०० केजी भित्रिएको छ । त्यसैगरी हरियो फर्सीको आपूर्ति पनि ५ हजार केजीबाट बढेर १४ हजार केजी पुगेको छ ।