क्रोएसिया पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सरदार पक्राउ
बिर्तामोड,मंसिर ३ । झापाका सय बढी युवाको रोजगारीका लागि क्रोएसिया उडाइदिने भन्दै करोडौँ रुपियाँ ठगी गर्ने युवा संजय सरदार शनिवार साँझ बिराटनगबाट पक्राउ परेका छन् ।
झापा कनकाई नगरपालिका ३ सुरुङ्गा बजार र कनकाई टोल र झापा गाउँपालिका क्षेत्रका एक सय बढी युवालाई राम्रो देशमा रोजगारी लगाइदिने भन्दै प्रतिव्यक्ति १ लाखदेखि ३ लाखका दरले रकम उठाएर मोरङ पोखरीया घर भई हाल कनकाई नगरपालिका ३ मा डेरा गरी बस्ने ३९ वर्षीय सञ्जय सरदारलाई विराटनगरको कटहरस्थित आदर्श नगरबाट शनिवार राती ९ बजे प्रहरीले पक्राउ गरेको हो ।
सरदारलाई विशेष सुराकीको आधारमा प्रहरीले पक्राउ गरी हाल जिल्ला प्रहरी कार्यालय विराटनगरमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सरदारले त्यहाँका अन्य मानिसहरूलाई समेत विदेश राम्रो देश पठाइदिने भन्दै करोडौँ रकम ठगी गरेको पाइएको र उनी हाल लुकिछिपी बस्दै आएको प्रहरीको भनाई रहेको छ । सरदारको ठगीको विषयमा जिल्ला प्रशासन कार्यालय झापा, मोरङ र वैदेशिक रोजगारी विभागमा समेत उजुरी रहेको छ ।
सरदारले स्थानीय युवालाई आकर्षक तलबमा रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम ठगेर गत साउन महिनाबाट बेपत्ता बनेका थिए । सरदारले रकम ठगी गर्नेहरूमध्ये २ महिला सहित १६ जनाको समूहलाई भारतको दिल्ली समेत पुर्याएर त्यहाँ मेडिकल र बायो मेट्रिक गराएको समेत नाटक गरेको स्थानीय सनम राईले बताए । भारतको दिल्लीमा त्यहीको अर्को ठगलाई बोलाएर आफूहरू बसेकै होटेलमा आएर बायोमेट्रिक गराएको र नेपाल ल्याएपछि उनीहरू चाँडो उठ्छन् भन्दै गाउँका अन्य युवाहरूबाट १ लाखदेखि ३ लाखसम्म सुरुमा डकुमेन्ट बनाउन भन्दै रकम र पासपोर्ट लिएको राईले बताए ।