मूल्यवृद्धि नियन्त्रण बाहिर, बजार महँगीले वाञ्छित सीमा पार गर्दा पनि सरकार किन मुखदर्शक ?
काठमाडौँ,कात्तिक २५ । बजार महँगीले वाञ्छित सीमा पार गरेको छ । सरकारले चालु आर्थिक वर्षमा बजार महँगी साढे ६ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य लिएको छ । तर, चालु आवको पहिलो तीन महिनामै यस्तो सीमा ७.५० प्रतिशत छ ।
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । तीन महिनामै महँगी साढे ७ प्रतिशत पुगेको छ । तर, यो चालु आवका लागि सरकारले राखेको मूल्य वृद्धिको अधिकतम सीमाको लक्ष्यभन्दा वास्तविक मूल्यवृद्धि एक प्रतिशत बिन्दुले बढी हो ।
बजार महँगी नियन्त्रणमा सरकार चुकेको हो । आयातमा केही सङ्कुचन र रेमिट्यान्स ह्वात्तै बढेको छ । अर्थतन्त्रका बाह्य क्षेत्र निरन्तर सुधार हुँदै गएको छ । तर, चालु खाता घाटामा पनि उल्लेख्य सुधार भएको छ । सोधनान्तर स्थिति अर्थात् देशबाट बाहिरिने र भित्रिने विदेशी मुद्राको अन्तर पनि बचतमै छ । अर्को तर्फ विदेशी विनिमय सञ्चितिमा बढेको नै छ ।
चालु आवको तीन महिनामा आयात १.७ प्रतिशत मात्रै बढेको छ । रेमिट्यान्स पनि ३० प्रतिशतले बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। यस्तै, शोधनान्तर स्थिति पनि ९९ अर्ब ७ करोडले बचतमा छ । यता, कुल विदेशी विनिमय सञ्चिति १६ खर्ब ४३ अर्ब ९ करोड अर्थात् १२ अर्ब ३३ करोड कायम भएको छ ।
तर, बजारमा महँगी भने नियन्त्रण हुन सकेको छैन । सरकारले व्यावहारिक अर्थतन्त्रको निर्माण गर्न नसक्दा पनि मूल्य वृद्धिदर नियन्त्रण बाहिर पुगेको हो । यसका साथै उपभोक्ता हितका लागि पनि सरकारले काम सकिरहेको छैन, जसका कारण महँगीले सर्वसाधारणको ढाड सेकेको छ ।
सर्वसाधारण उपभोक्ताहरू चर्को महँगीको मार खेपी रहेका छन् । चालु आवको पहिलो महिनामै बजार महँगी ७.५२ प्रतिशत पुगेको थियो । त्यसपछिको महिना अर्थात् भदौमा पनि ८.१९ प्रतिशत पुगेको थियो । चालु आवको तीन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत पुगेको छ । यस्तै, गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको छ ।
राष्ट्र बैङ्कका अनुसार खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलफूलको १४.०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.२३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.९२ प्रतिशतले बढेको छ ।
यस्तै, चालु आवको तीन महिनामा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६१ प्रतिशतले घटेको छ । यता, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १२.११ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ८.०८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ६.२५ प्रतिशतले बढेको छ ।
समीक्षा महिनामा यातायात उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.६२ प्रतिशतले घटेको छ । यस्तै, असोज महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १०.२३ प्रतिशत, तराईको ५.६६ प्रतिशत, पहाडको ७.३८ प्रतिशत र हिमालको १०.२४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ६.९३ प्रतिशत, ९.४२ प्रतिशत, ८.८४ प्रतिशत र ७.०७ प्रतिशत रहेको थियो ।