दाङका किसानले पाएनन् धानको समर्थन मूल्य



देउखुरी (दाङ),कात्तिक २४ । दाङमा किसानले धानको समर्थन मूल्य पाउन सकेका छैनन् । जिल्लामा किसान तथा व्यापारीबीच आपसी सहमतिमा मूल्य निर्धारण गरी धान खरीद विक्री भइरहेको छ । सरकारले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल रू. तीन हजार एक सय ९८ र मध्यम धानको रू. तीन हजार तीन सय ६२ तोकेको भए पनि किसान भने सो मूल्यभन्दा कममा विक्री गर्न बाध्य भएका छन् । 

घोराही उपमहानगरपालिका–६ का मनोज चौधरीले गत वर्ष मोटा धान प्रतिक्विन्टल रू. दुई हजार चार सयमा विक्री गरेको र यसपालि व्यापारीसँगको सहमतिमा रू. दुई हजार सात सयमा धान विक्री गरेको बताए । उनले एक बिघा जमिनमा धानखेती गरेका छन् ।  
    
घरमा भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान विक्री गर्न बाध्य भएको उनको भनाइ छ । ‘महँगोमा बीउ, मल र श्रमिक लगाएर धानखेती गर्नुपर्छ । तर, धानको समर्थन मूल्य नपाउँदा लागानी खेर गएको जस्तो लाग्छ,’ उनले भने ।  

व्यापारीको मनोमानीका कारण आफूलाई समस्या परेको किसानको गुनासो छ । सरकारले तोकेको मूल्य यहाँ हालसम्म पनि लागू हुन नसकेको किसानहरू गुनासो पोख्छन् । लमही नगरपालिका–३ का बेजलाल चौधरीले पनि व्यापारीको सहमतिमा प्रतिक्विन्टल रू. दुई हजार नौ सयमा स्थानीय व्यापारीलाई धान विक्री गरेको बताए । 
समयमै पानी परेकाले यस वर्ष धान उत्पादन राम्रो भए पनि समर्थन मूल्य पाउन नसक्दा आम्दानी कम भएको उनको भनाइ छ । 

लमही नगरपालिका–५ स्थित कक्षपति राइस मिलले यस वर्ष मोटा धान प्रतिक्विन्टल रू. दुई हजार नौ सय र मसिनो धान प्रतिक्विन्टल रू. तीन हजार दुई सयमा खरीद गरेको मिलका व्यवस्थापक मदन अधिकारीले बताए । गत वर्षभन्दा यो वर्ष धानको मूल्य राम्रो रहेको उनले बताए । मिलले धान खरीद गरेर चामल बनाइ विक्री गर्ने भएकाले सरकारले निर्धारण गरेको मूल्यमा किसानको धान खरीद गर्न नसकेको उनको भनाइ छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले विगतका वर्षदेखि नै धान खरीद गर्न सकेको छैन । भौतिक पूर्वाधारको अभाव र जनशक्ति अभावका कारण धान खरीद गर्न नसकेको तुलसीपुर शाखाका प्रमुख तिलक सुनारले बताए । कम्पनीसँग हाल पाँच हजार क्विन्टल धान राख्न मिल्ने दुईवटा गोदाम छन् ।

कृषि ज्ञान केन्द्र, दाङको तथ्याङ्कअनुसार यस वर्ष ३८ हजार चार सय ९७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्