भूकम्प पीडितहरूको नाममा इन्टरनेट स्क्यामरबाट ठगी हुन सक्छ, सतर्क हुनुस
काठमाडौं,कात्तिक १९ । भूकम्प पीडितहरूको नाममा इन्टरनेट अथवा अन्य माध्यमबाट स्क्यामरहरूले आर्थिक सहयोग माग्दै ठगी गर्न सक्ने भन्दै सतर्क हुन नेपाल प्रहरीले अनुरोध गरेको छ । नेपाल प्रहरीले एक सूचना जारी गर्दै भूकम्प पीडितलाई सहयोग गर्दा इन्टरनेट स्क्यामर/एक्स्प्लोइटरहरूबाट सावधानी अपनाउन आग्रह गरेको हो ।
सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघसंस्थाहरू आधिकारिक हो/होइन निश्चित गरेर मात्र सहयोग गर्न प्रहरीले विज्ञप्ती मार्फत अनुरोध गरेको छ। ‘भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघ-संस्थाहरू आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्नुहोला,’ प्रहरीले भनेको छ।
जाजरकोटको रामी डाँडालाई केन्द्रविन्दु बनाएर गएराति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिम/पूर्व लगायत आसपासका क्षेत्रमा मानवीय तथा भौतिक क्षति पुगेको छ ।