देशको अर्थतन्त्र सकारात्मक बाटोमा छ : अर्थमन्त्री महत
काठमाडौं,कात्तिक १६ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले सो कुरा बताएका हुन् ।
अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेकाले अब धेरै चिन्ता गर्नुपर्ने अवस्था नरहने उनले बताए । अर्थतन्त्र धरासायी भयो भन्ने प्रचार सही नभएको उनको भनाइ छ । उनले अब ब्याजदर घट्ने पनि बताए । त्यस्तै, जग्गाको कारोबार बढिरहेको, पर्यटक र रेमिट्यान्स पनि बढिरहेको बताए । उनले मानिसमा आत्मविश्वासको कमी भएका कारण खर्च गर्न हिच्किचाइरहेको परिस्थितिमा अब सो परिस्थितिको अन्त्य भएको बताए ।
उनले भने, ‘धरायसी केही पनि छैन । तपाईहरु पटक–पटक धरायसी, धरायसी भन्नुहुन्छ । अहिले अर्थतन्त्रले बिस्तारै पिकअप लिइरहेको छ । अब ब्याजदर पनि घट्छ । जग्गाको कारोबार बढिरहेको छ । देश विदेशको पर्यटक बढिराखेका छन् । रेमिट्यान्स् बढिराखेको छ ।’
नेगेटिभ कुराहरु बजारमा गएको हुनाले आत्मविश्वासको कमी भएको डा. महतले बताए । ‘आत्मविश्वास कमी भएको अवस्थामा खर्च गर्नेले पनि नगर्ने, लगानी गर्न पनि हिच्किचाउने परिस्थिति थियो । अब त्यो परिस्थिति बिस्तारै अन्त्य भइराखेको छ’ अर्थमन्त्री महतले भने, “अर्थतन्त्र सकारात्मक बाटोमा जाँदैछ । त्यसको म तथ्यांकसहित केही दिनमा प्रस्तुत पनि गर्छु । पत्रकार सम्मेलन गरेर प्रस्तुत गर्छु । हामी बजेटको कार्यान्वयनमा पनि सक्रियतापूर्वक लाग्छौँ ।’