नुवाकोट पञ्चकन्याको घ्याङस्वारा पार्कमा लगाइएको चिया गोडमेल सुरु
नुवाकोट,कात्तिक १५ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा रहेको घ्याङस्वारा पार्कमा लगाइएको चिया खेती गोडमेल सुरु भएको छ ।
गत असार २६ गते रोपिएको १२ हजार ५ सय चियाको विरुवा गोडमेल सुरु गरिएको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताए ।
अनावश्यक विरुवा हटाएर तिहार लक्षित सरसफाइ स्वरुप चिया गोडमेल सुरु गरिएको अध्यक्ष तामाङले बताए । ‘हाल दैनिक ३५ जना स्थानीय नागरिकले परिश्रम गरिरहेका छन्’ अध्यक्ष तामाङले भने- ‘गाउँपालिकाको रोजगार सेवा केन्द्र बाट सञ्चालन भइरहेको कार्यक्रमबाट स्थानीयलाई आयआर्जनको मेसो समेत मिलेको छ ।’
कुल २० रोपनी जग्गा क्षेत्रफलमा लगाइएको चिया खेती समुन्द्री सतहदेखि १८६० मिटरमा रहेको छ । चियाका लागि खेतीयोग्य उक्त भूमिमा चियाको विरुवा लहलह बढेको छ ।आउदो ५ बर्षमा चियाले प्रतिफल दिने अपेक्षा गाउँपालिकाले राखेको छ। उक्त आम्दानी गाउँपालिकाको आन्तरिक श्रोतको रुपमा स्थापित गरिने प्रधानमन्त्री स्वरोजगार कोषका इन्जिनियर कपिल शाह बताउँछन् ।
इन्जिनियर शाहका अनुसार चियाको अलवा घुम्न आउने पर्यटकलाई आकर्षक तुल्याउन विभिन्न जातका फूल तथा खुर्पानी, नास्पाती जस्ता फलफूल समेत लगाइएको छ । पालिकाको आन्तरिक आम्दानी बढाउन तथा स्थानीयलाई रोजगारि सृजना गर्न नै सो योजनाको सुरुवात गरिएको इन्जिनियर शाहले बताए ।
पार्क क्षेत्रमा हाल पिकनिक स्पट, गाउँपालिकाका ससस्त्र द्वन्दका समयमा ज्यान गुमाएका सहिदका मुखाकृती, मन्दिर, पिङ, बाह्य पर्यटकका लागि आवास कक्षको समेत प्रवन्ध भैसकेको छ ।