पाल्पामा महिला नेतृत्वको सहकारीले बेच्यो दुई करोडको खसिबोका
पाल्पा,कात्तिक १२ । पाल्पामा महिलाले नेतृत्व गरेको सहकारीले दसैँको मुखमा दुई करोड बढीका खसिबोका बिक्री गरेका छन् । महिलाले नेतृत्व गरेको जिल्लाका चार वटा सहकारीहरूले दसैँको मुखमा दुई करोड १० लाख रुपियाँको खसिबोका र माउ बिक्री गरेका हुन् ।
तानसेनस्थित मिलनसार महिला उद्यमी सहकारी संस्था लिमिटेडले दसैँका बेलामा मात्रै झन्डै एक करोडको खसिबोका र माउ बाख्रा बिक्री गरेको जनाएको छ । सहकारी संस्थाका अध्यक्ष कमला भण्डारीका अनुसार दसैँको मासुका र माउ बाख्रा गरी ९८ लाखको बिक्री भएको छ । उनले भनिन, ‘सहकारीले खसिबोका सङ्कलन केन्द्र सञ्चालन गरेर बिक्रीको प्रबन्ध मिलाएको छ ।’
यस्तै रम्भा गाउँपालिका–३ स्थित उपहार सामाजिक उद्यमी महिला सहकारीले ४८ लाख २७ हजारको खसिबोका बिक्री गरेको छ । सोही गाउँपालिकाको पिपल डाँडा सामाजिक उद्यमी महिला सहकारीले ३४ लाख ५६ हजारको खसिबोका बिक्री गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख मीनबहादुर कार्कीले बताए । रम्भाका महिला मात्र आबद्ध रहेको दुई वटा सहकारीले दसैँमा मात्र ८३ लाखको खसिबोका बिक्री गरेको कार्कीले जानकारी दिए ।
दसैँमा मात्र कम्तीमा एक महिलाले खसिबोका बिक्री गरेर ५० हजार देखि एक लाख ८० हजारसम्म आम्दानी गरेको उपहार सामाजिक महिला उद्यमी सहकारी संस्थाका व्यवस्थापन कृष्णमाया पाडेँमगरले बताइन् । दसैँपछि पनि खसिबोका बिक्री गर्ने तयारी गरिएको उनले जानकारी दिइन् ।