भारतीय बजारमा प्याजको उच्च मूल्य वृद्धि, नेपालमा पनि महँगिने संकेत
काठमाडौँ,कात्तिक १० । भारतीय बजारमा प्याजको मूल्य वृद्धि भएसँगै नेपालमा पनि बढ्ने सम्भावना देखिएको छ । भारतीय बजारमा पछिल्लो १५ दिनमै प्याजको भाउ ६० प्रतिशतसम्म मूल्य वृद्धि भएको छ ।
हाल भारतमा प्याजको भाउ प्रतिकिलो ७० रुपैयाँसम्म पुगेको छ । १५ दिन अघिसम्ममा भने ५० रुपैयाँ कायम भएको थियो । भारतीय बजारमा प्याज महँगो भएसँगै नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ । नेपाली बजार प्याज लगायतमा भारतमाथि निर्भर छ । भारतीय बजारमा वस्तुको मूल्य वृद्धि हुँदा नेपालमा पनि बढ्ने गरेको छ ।
नेपालमा ९० प्रतिशत बढी प्याज भारतबाट नै आयात गरिन्छ । भारतमा प्याजको भाउ बडेसँगै नेपालमा पनि त्यसको असर पर्ने बताइन्छ । कालीमाटी तरकारी बजारमा पनि भारतबाट हाल दैनिक ९० टन प्याज आयात हुने गरेको छ । भारतीय बजारमा नै पूर्ण रूपमा निर्भर भएकाले नेपालमा पनि मूल्य वृद्धि र कालो बजारी समेत हुन सक्ने अनुमान पनि गरिएको छ । तर, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भने कालोबजारी हुन नदिने बताएको छ ।
यद्यपि, अन्य व्यापारीहरूसँग रहेको प्याजमा भने हुन सक्ने अनुमान गरिएको छ । यसका लागि सरोकारवाला निकायले अनुगमनमा जोड दिनुपर्नेछ । कालोबजारीले नेपाली सर्वसाधारण उपभोक्ता मर्कामा पर्दै आएका छन् । अहिले पनि प्याजमा उच्च मूल्य खेप्नु अगावै अनुगमनलाई कडाइका साथ लागू पर्ने जानकारबालाहरू बताउँछन् ।
यसअघि पनि नेपालमा प्याजको मूल्य प्रतिकिलो ९० रुपैयाँभन्दा माथि पुगेको थियो । विशेषगरि भारत प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको थियो । उक्त करको व्यवस्था अगामी डिसेम्बरसम्म लागू हुने जनाएको थियो । त्यसपछि नै नेपाली बजारमा प्याजको भाउ आकासिएको थियो ।