काभ्रेबाट ९२ बोरा चिनी बरामद
काठमाडौं,कार्तिक ३ । प्रहरीले काभ्रेबाट राजश्व छलेका ९२ बोरा चिनी बरामद गरेको छ। काभ्रेको बनेपा नगरपालिका-७ स्थित अरनिको राजमार्गमा बिहीबार दिउँसो सवारी जाँच गर्नेक्रममा ट्रकबाट प्रहरीले चिनी र केहिबोरा धान बरामद गरेको हो।
पनौतीबाट बनेपा जाँदै गरेको धुलिखेल नगरपालिका-२ बस्ने ३७ वर्षीय राजु तिमल्सिनाले चलाएको ना ६ ख ६२१९ नम्बरको ट्रक रोकेर प्रहरीले तलासी लिएको थियो।
त्यसक्रममा ट्रकभित्र ५० किलोका ९२ वटा बोरा र २८ वटा धानका बोरा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले चालक र ट्रकलाई नियन्त्रणमा लिएको छ। थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाएको छ।