एउटै पालिकामा पाँच हजार डेंगुका बिरामी, पाँचको मृत्यु



तनहुँ,असोज ३० । तनहुँमा एउटै पालिकामा डेंगुबाट झण्डै पाँच हजार बिरामी भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । व्यास नगरपालिकामा चार हजार ७३५ जनालाई डेंगुको सङ्क्रमण हुनका साथै पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । डेंगुको सङ्क्रमण बढ्दै गएपछि सरकारी तथा निजी अस्पतालमा बिरामीको भीड लागेको छ ।

तनहुँमा हालसम्म पाँच हजार ५५६ जनामा सङ्क्रमण भएकोमा व्यासमा चार हजार ७३५, आँबुखैरेनी गाउँपालिकामा ३९, ऋषिङ गाउँपालिकामा १५०, घिरिङ गाउँपालिकामा आठ, देवघाट गाउँपालिकामा नौ, बन्दीपुर गाउँपालिकामा ३७, भानु नगरपालिकामा ७३ भिमाद नगरपालिकामा १५६ जना, म्याग्दे गाउँपालिकामा ८५ जना, शुक्ला गण्डकी नगरपालिकामा ३४० जना र पालिका नखुलेको ६ जनामा डेंगुको सङ्क्रमण भएको स्वास्थ्य कार्यालय तनहुँमा प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । 

सङ्क्रमितमध्ये  व्यास नगरपालिकामा मात्रै ८५ प्रतिशतभन्दा बढी रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अनुसार पाँच जनाको मृत्यु भएको छ । नगरपालिका–४ शीतलचोकका छ वर्षीय रिजब श्रेष्ठको असोज २६ गते निधन भएको छ । 

गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा श्रेष्ठको मृत्यु भएको  हो ।     डेंगुको सङ्क्रमणबाट गत असार १६ गते व्यास नगरपालिका–१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका–११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते व्यास नगरपालिका–२ निवासी १३ वर्षीया बालिका र असोज २० गते व्यास नगरपालिका–२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको छ ।

डेंगुको सङ्क्रमण एडिज जातीको लामखुट्टेबाट मात्र फैलने, सफा पानीमा फूल पार्ने, लार्भा हुर्काउने भएकाले पानी जम्न नदिएर वासस्थान ध्वस्त बनाएर लामखुट्टेलाई नष्ट गर्नुपर्ने चिकित्सक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्