चर्को बजार महँगीको मार खेप्दै नेपाली, मूल्यवृद्धि नियन्त्रणमा यसरी चुक्दै सरकार
काठमाडौँ,असोज ३०। बजार महँगी सरकारको लक्ष्य भन्दा माथि पुगेको छ । नियन्त्रणमा सरकार चुकेको छ । चालु आर्थिक वर्षमा सरकारले महँगी ६.५ प्रतिशत मात्रै कायम गर्ने लक्ष्य राखेको छ । तर, चालु आवको पहिलो दुई महिना साउन र भदौमै त्यो सीमा पार गरेको छ । अर्थात्, महँगी बढेर ८.१९ प्रतिशत पुगेको छ ।
नेपाल राष्ट्र बैङ्कले मङ्गलवार प्रकाशित गरेको चालु आव २०८०/८१ को भदौ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धीको तथ्याङ्कले यस्तो देखाएको हो । आयातमा केही सङ्कुचन र रेमिट्यान्स वृद्धि हुँदा बाह्य क्षेत्र निरन्तर सुधार हुँदै गएको छ । तर, चालु खाता घाटामा पनि उल्लेख्य सुधार भएको छ । सोधनान्तर स्थिति अर्थात् देशबाट बाहिरिने र भित्रिने विदेशी मुद्राको अन्तर पनि बचतमै छ । अर्को तर्फ विदेशी विनिमय सञ्चितिमा बढेको नै छ । तर, बजारमा महँगी भने नियन्त्रण हुन सकेको छैन । झन्झन् आकासिएको छ । सर्वसाधारण उपभोक्ताहरू चर्को महँगीको मार खेपी रहेका छन् । गत साउनसम्म ७.५२ प्रतिशत रहेको मुद्रास्फीति एक महिनामै बजार महँगी शून्य दशमलव ६७ प्रतिशतले बढेको देखिन्छ । बजार महँगी वृद्धि भएपछि सर्वसाधारण उपभोक्ता मारमा परेका छन् ।
सरकारले व्यावहारिक अर्थतन्त्रको निर्माण गर्न नसक्दा पनि मूल्य वृद्धिदर नियन्त्रण बाहिर पुगेको छ । यसका साथै उपभोक्ता हितका लागि पनि सरकारले काम सकिरहेको छैन, जसका कारण महँगीले सर्वसाधारणको ढाड सेकेको छ । बिशेषगरि पेट्रोल र डिजेल जस्ता इन्धनको मूल्य बढ्दा पनि मुद्रास्फीति वृद्धि भएको हो । इन्धनको मूल्य बढ्दा बस्तुको ढुवानी खर्च स्वतः खर्च बढ्छ । आयात गरिने वस्तुको पनि लागत बढ्छ । साथै, इन्धनमा आधारित उद्योगहरूको लागत पनि बढ्छ । यसरी इन्धनको मूल्य बढ्दा महँगी पनि बढ्छ । सोही अनुरूप विगतमा इन्धनको मूल्य बढ्दै जाँदा महँगी पनि बढ्दै गइरहेको बताइन्छ ।
चालु आवको भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत पुगेको छ । तर, अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.६४ प्रतिशत रहेको थियो । गत भदौ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.९९ प्रतिशत रहेको छ ।
यस्तै, समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १७.८६ प्रतिशत, तरकारीको १४.५१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.३८ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १२.६० प्रतिशत र रेस्टुरेन्ट तथा होटेलको १०.९७ प्रतिशतले बढेको छ । समीक्षा महिनामा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १३.०८ प्रतिशतले घटेको छ ।
साथै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको १२.२१ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ८.११ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ६.५९ प्रतिशतले बढेको छ । समीक्षा महिनामा यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.१८ प्रतिशतले घटेको छ ।
समीक्षा महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ९.८३ प्रतिशत, तराईको ७.०३ प्रतिशत, पहाडको ८.०९ प्रतिशत र हिमालको ११.३२ प्रतिशत रहेको छ । गत वर्ष २०७९ भदौ महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ७.६२ प्रतिशत, ९.३३ प्रतिशत, ८.८२ प्रतिशत र ६.६८ प्रतिशत रहेको थियो ।
असफल आर्थिक नीतिकै कारण नेपाली सर्वसाधारणले वर्षेनि महँगीको मार खेप्दै आएका छन् । उच्च दरको मूल्यवृद्धिले उपभोक्ताहरूको जनजीवन नै प्रभावित बनिरहेको छ । गत आवमा पनि सरकारले मूल्य वृद्धिलाई ७ प्रतिशतभन्दा कम राख्ने लक्ष्य लिएको थियो । तर, सरकारले लिएको लक्ष्य अनुसार बजार नियन्त्रण हुनै सकेन । सो वर्ष मूल्य वृद्धि ७.७४ प्रतिशतले पुगेको थियो ।
सरकारले आफ्नो अभिभावकीय उपस्थिति नदेखाउँदा सर्वसाधारणले मार खेपिरहेका छन् । मुलुकमा बढ्दो बेरोजगारी र बढ्दो मुद्राaस्फीतिलाई सरकारले सम्बोधन गर्ने नीति अवलम्बन गर्न सक्दा पनि महँगी नियन्त्रण बाहिर पुगेको जानकारहरू बताउँछन् ।