खाद्य कम्पनीद्वारा खसीबोका बिक्री खुला
काठमाडौं,असोज ३० । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मङ्गलबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । बजार मूल्य हस्तक्षेप गरी उपभोक्तालाई सहुुलियत दिनका लागि कम्पनीले खसीबोका बिक्री खुला गरेको हो ।
आइतबार उपत्यकामा हेटौँडाबाट तीन सयको सङ्ख्यामा खसीबोका र रसुवाबाट ३७० वटा च्याङ्ग्रा भित्रिइसकेका कम्पनीले जनाएको छ । बाँकी भने आउने क्रममा रहेको कम्पनीले जनाएको छ ।
खसीबोकाको बिक्री कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट बिक्री हुने छ । कम्पनीका प्रवक्ता शर्मिला न्यौपानेले मङ्गलबारदेखि खसीबोकाको बिक्री खुला गरिएको जानकारी दिइन। जिउँदो खसी प्रतिकेजी ६८० रुपियाँ निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६७० रुपियाँमा बिक्री खुला गरिएको उनले जानकारी दिइन ।
यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २६० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर एक हजार २५० रुपियाँ बिक्री मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ ।