सहुलियत पसलमा बढ्यो उपभोक्ताको भिड



काठमाडौं,असोज ३० । नेपालीको महान् पर्व दसैँ नजिकिएसँगै बजारमा भिडभाड बढेको छ । दसैँ पर्व हुनेखानेको मात्रै नभएर हुँदा खानेको पनि पर्व भएकाले सबै जना दसैँका लागि किनमेलमा व्यस्त छन् । 

दसैँको दोस्रो दिन बजारमा दसैँका लागि खाद्यवस्तु, लत्ताकपडा तथा आवश्यक वस्तुको जोहो गर्नेहरूको भिड लागेको हो । योसँगै यति बेला आर्थिक कारोबार पनि बढेको छ । आमनागरिकले अन्य समयको तुलनामा बढी खर्च गर्ने हुनाले यति बेला आर्थिक गतिविधि पनि बढेको छ । 

दसैँलाई लक्षित गरी सरकारले गत असोज १ देखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल दुग्ध विकास संस्थान (डिडिसी) मार्फत सहुलियत मूल्य पसल पनि सञ्चालनमा ल्याएको छ । ती पसलमा खाद्यवस्तुका सामान खरिद गर्ने सर्वसाधारणको भिड दिनप्रतिदिन बढ्दै गएको छ । 

खाद्य कम्पनीले उपत्यका चार स्थानसहित देशका विभिन्न आठ ४८ स्थानमा सञ्चालित सहुलियत मूल्य पसलमा उपभोक्ताको भिड दिनदिनै बढेको सो कम्पनीले जनाएको छ । साल्ट टेडिङ कर्पोरेसनले उपत्यकामा आठसहित उपत्यकाबाहिर जिल्लामा गरी ४३ स्थान सहुलियत पसल सञ्चालन गरेको छ । कर्पोरेसनले उपत्यकामा तीन वटा मोबाइल भेनमार्फत पनि सेवा दिँदै आएको छ । 

सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले कम्पनीले आफ्ना बिक्री केन्द्रमार्फत सहुलियत मूल्य बिक्री गर्दै आएका खाद्यवस्तुमा सबैभन्दा धेरै चामल बिक्री भएको जानकारी दिए । उनका अनुसार उपत्यकाको हकमा भने चामलसँगै चिनो, कागुनो र कर्णालीको सिमीको बढी माग आएको छ । सो कम्पनीको थापाथलीस्थित बागमती प्रदेश कार्यालयका प्रमुख ज्ञानु थापाले उपत्यकामा चिनो र कागुनोको धेरै माग भएकाले पु¥याउनै नसकेको बताए । कम्पनीको बढी बिक्री गर्ने लक्ष्य चामल भए पनि उपभोक्ताको बढी आकर्षण चिनो र कागुनोमा भएको उनको भनाइ छ । अन्य बजारको तुलनामा सरकारले सञ्चालनमा ल्याएको सहुलियत मूल्य पसलमा खाद्यवस्तुको मूल्य सस्तो भएकाले सर्वसाधारण उपभोक्ताको भिड लाग्नु स्वाभाविक भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्