चाडबाडले बढायो सुनको व्यापार: दैनिक ३० केजी खपत, पुरानो साट्ने भन्दा नयाँ किन्ने धेरै



काठमाडौँ,असोज २९ । चाडबाडले सुन बजारमा थप उत्साह दिएको छ । विशेषगरि दसैँको मुखैमा सुन व्यापार बढेको हो । आर्थिक मन्दी, उच्च ब्याजदर र महँगीले सुस्ताएको सुन कारोबार अहिले भने बढेको छ । निरन्तर व्यापारमा निराश भएका व्यवसायीहरूलाई पनि पनि राहत मिलेको हो ।

यति बेला दसैँ लक्षित किनमेलले पनि सुनको व्यापार बढाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले बताए । अघि पछिको सिजनको तुलनामा यसपालिको दसैँ लगायतको चाडबाडको मुखैमा कारोबार बढेको उनको भनाई छ । आर्थिक सङ्कट लगायतबाट निराश बनाएको व्यापारीहरूलाई दसैँको मुखमा भइरहेको व्यापारले राहत दिएको अध्यक्ष शाक्यले बताए । उनले भने,–‘ दसैँको सिजनले सुनको व्यापार बढाएको छ । विभिन्न चरण आर्थिक सङ्कट, उच्च ब्याजदर र महँगीले सुस्ताएको व्यापार वृद्धिले केही राहत दिलाएको छ ।’

उनका अनुसार अहिले दैनिक २५–३० केजीसम्म सुनको भाग भइरहेको छ । तर, दसैंअघिसम्म भने दैनिक रूपमा १५–२० केजी हाराहारीमा बजार माग हुने गरेको थियो । अध्यक्ष शाक्यले भने,–‘अहिले दैनिक माग पनि बढेको छ । २५–३० केजीसम्म बजार माग छ । तर, दसैँ अघिसम्म भने त्यही १५–२० केजी मात्रै थियो । अहिले बजारमा केही उत्साह देखिएको छ ।’ 

पछिल्लो समय मूल्यमा पनि केही गिरावट आएकाले कारोबार बढेको हो । बजारमा अहिले नयाँ सुन खरिद गर्ने धेरै रहेका छन् । ‘कारोबार बढी रहेको छ । केही हप्ताअघिसम्म नयाँ पुरानो सुनको किनबेच मिश्रित रहेको थियो । अहिले पुरानो साट्ने भन्दा पनि नयाँ किन्ने नै बढी छन् । दसैँको बेलामा भएर पनि होला  पूर्ण रूपमा नयाँ सुन नै खरिद गर्ने बढी देखिएको छ’–अध्यक्ष शाक्यले भने । 

अब बिस्तारै कारोबार बढ्ने व्यापारीहरू बताउँछन् । दसैँ, तिहार लगायतका नजिकिएको चाडबाड तथा बिहेको सिजनले गर्दा पनि कारोबार बढ्ने उनीहरूको भनाई छ । इजरायल प्यालेस्टिन युद्धको प्रभावले  भाउ बढ्ने अनुमानले पनि अहिले व्यापार बढेको हुन सक्ने उनको भनाई छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा चर्किएको द्धन्दको प्रभावका कारण लगानीकर्ताहरू सुरक्षित लगानीको रूपमा सुन तर्फ आकर्षित हुन थालेकोले सुनको माग बढ्न गएको जानकारहरू बताउँछन् । त्यसले मूल्य वृद्धिमा चाप परेको उनीहरूको तर्क छ । 

प्रतिक्रिया दिनुहोस्