आज दशैंको दोस्रो दिनः सर्वसिद्धि प्राप्त गर्न र स्मरण शक्ति बढाउन माता ब्रह्मचारीणी व्रत



काठमाडौं,असोज २९ । आज नवरात्रीको दोस्रो दिन । यस दिन नव दुर्गामध्ये दोस्रो स्वरुप माता ब्रह्मचारीणीको पूजा गरिन्छ । माता पार्वती हिमालय पर्वतकी पुत्रीको रुपमा जन्म लिएपछि देवा ऋषि नारदको सल्लाहमा हजारौं वर्ष कठोर तपस्या गरेकी कि थिइन् । जगदीश्वर महादेवलाई पतिको रुपमा पाउन उनले ब्रह्मचार्य व्रतको पालना गरेर कठोर तप गरेको अवस्थालाई माता दुर्गाको ब्रह्मचारीणि स्वरुप मानिन्छ ।

माता ब्रह्मचारिणीले एक हजार वर्षसम्म फलफूल र कन्दमुलमात्रै खाएर तपस्या गरेको देवी पुराणमा उल्लेख छ । त्यसपछि तीन हजार वर्षसम्म भूईँमा झरेका बेलपत्र खाएर तपस्या गरेको बताइन्छ । अर्को हजार वर्ष पानीमात्रै पिएर र थप एक वर्ष केही पनि नखाइ स्वासमात्रै फेरेर (वायु ग्रहण) तपस्या गरेकी थिइन् ।

यस्तो घोर तप गर्दा राक्षसी शक्तिले तपस्यामा बसेकी माता ब्रह्मचारिणी विरुद्ध पटक पटक आक्रमण गरेको पुराणमा वर्णन छ । यस्तो बेला तपस्यारत मातको आत्माशक्तिले युद्ध लडेर असंख्य दानवको नाश गरेका कारण देवीको यस रुपलाई नव दुर्गामध्येको एक दुर्गा मानिएको हो । मातालाई ब्रह्माण्डका सम्पूर्ण विद्या, शास्त्रकी ज्ञाता मानिन्छ ।

पुराणमा वर्णन गरिएअनुसार माता ब्रह्मचारिणीको स्वरुप अति सौम्य छ । खुल्ला केश, श्वेत वस्त्र धारण गरेकी र दाहिने हातमा अखण्ड जप माला एवम् देव्रे हातमा कमण्डलू धारण गरेकी माताको वर्णन पाइन्छ । कमलको फूलका गहना लगाएकी शिवको नाम जप्दै हिँड्ने माता ब्रह्मचारिणीको व्रत गर्नाले व्यक्तिमा स्मरण शक्ति बढ्नुका साथै तप, त्याग, वैराग्य, सदाचार एवम् संयम् बढ्ने विस्वास गरिन्छ ।

देवीको यस रुपमो साधनाले साधकको मलिनता, सबै किसिमका दुर्गुण र दोष नाश भएर सर्वसिद्धि एवम् विजय प्राप्त हुने जनविस्वास छ । यस्ता साधकले जीवनमा जुन कुराको संकल्प लिन्छन्, त्यो कुरा प्रापत गरेरै छाड्छन् भन्ने मान्यता छ ।

देवीको यस ज्योतिर्मय स्वरुपलाई ब्रह्मचारिणीका अतिरिक्त तपश्चारिणी, अपर्णा र उमा नामले पनि पुकारिन्छ । नवदुर्गाको प्रथम स्वरुप शैलपुत्रीलाई मूलाधार चक्रमा ध्यान गरेजस्तै दोस्रो स्वरुपकी व्रह्मचारिणीलाई स्वाधिष्ठान चक्रमा ध्यान गरेर यिनको साधना गरिन्छ ।

माताको बीज मन्त्र ‘ह्रीं श्री अम्बिकायै नमः’ हो । वैदिक मन्त्र भने ‘ॐ ऐं ह्रीं क्लीं ब्रह्मचारिण्यै नमः’ हो ।

माताको श्लोक:

दधाना करपद्माभ्यामक्षमालाकमण्डलु ।
देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा ।।

ध्यान मंत्रः

वन्दे वांछित लाभायचन्द्रार्घकृतशेखराम् ।
जपमालाकमण्डलु धराब्रह्मचारिणी शुभाम् ।।
गौरवर्णा स्वाधिष्ठानस्थिता द्वितीय दुर्गा त्रिनेत्राम् ।
धवल परिधाना ब्रह्मरूपा पुष्पालंकार भूषिताम्॥
परम वंदना पल्लवराधरां कांत कपोला पीन ।
पयोधराम् कमनीया लावणयं स्मेरमुखी निम्ननाभि नितम्बनीम् ।।

प्रार्थना मन्त्रः

या देवी सर्वभूतेषु माँ ब्रह्मचारिणी रूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
दधाना कर पद्माभ्याम अक्षमाला कमण्डलू ।
देवी प्रसीदतु मई ब्रह्मचारिण्यनुत्तमा ।।

प्रतिक्रिया दिनुहोस्