नुवाकोटमा पनि खुल्यो चाडपर्व लक्षित सुपथ मूल्य पसल



नुवाकोट,असोज २७ । नुवाकोट उद्योग वाणिज्य संघको पहलमा नुवाकोटमा पनि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । जिल्लाको विदुर नगरपालिका स्थित बट्टार बजारमा दशैं, तिहार, छठलगायत चाडपर्वमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले अज शनिबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको हो ।

विदुर नगरपालिका-४ हावाघरमा साल्ट ट्रेडिङ कर्पोरेशनको सहकार्यमा सञ्चालनमा आएको सुपथ मूल्य पसलको उद्घाटन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले गरेका हुन् । अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडवाड अवधिभर यस्ता पसल सञ्चालनमा आउँदा उपभोक्तामा आंशिक राहत पुग्ने संघका अध्यक्ष श्रेष्ठले बताए ।

बाघ बच्छला किराना स्टोरमा सुरु भएको सुपथ पसलमा प्रचलित मूल्यभन्दा दुईदेखि ४३ रुपैयाँसम्म छुट दिएको छ । खानेतेल, चिउरा, मैदा, आटा र दालमा ७/७ रुपैंया सहुलियत छ भने खानेनुनमा प्रति प्याकेट रु २ र चिनी प्रति किलोग्राममा ४३ कम मुल्यमा पाईने छ।

पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रूपमा उपलब्ध गराउने साल्ट ट्रेडिङ कर्पोरेशनको उद्देश्य छ।

प्रतिक्रिया दिनुहोस्