एमालेभित्र सुदृढ अनुशासन चाहिएको छ : अध्यक्ष ओली
काठमाडौं,असोज २६ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अराजकतालाई स्वीकार गर्न नसकिने भन्दै सुदृढ अनुशासन चाहिएको बताएका छन् । शुक्रवार पार्टीको स्कुल विभागले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
उनले जनवाद मात्र बुझ्ने, केन्द्रीयतालाई नबुझ्ने, पार्टीको नीति, विधि, संगठन संरचनाभित्र नबाँधिएको मानिस पार्टीमा अटाउन नसक्ने पनि बताए । अध्यक्ष ओलीले पार्टीभित्र सुदृढ अनुशासन कायम नभए पार्टी जोगाउन नसकिने पनि चर्चा गरे । उनले भने, “पार्टी जीवनमा संगठन, नेतृत्वलाई मान्नुपर्छ । यो मान्दिन, ऊ मान्दिन भन्ने छुट कसैलाई छैन । पार्टीलाई पार्टीको ढंगले चलाउन अनुशासन चाहिन्छ, जनवादी केन्द्रीयता चाहिन्छ ।”
“केन्द्रीयता नभइ पार्टी हुन सक्दैन । केन्द्र नभई देशभरीको पार्टी के हुन्छ ? हरेक सदस्य ऊ आफै पार्टीको सिंगो रचना त हुन नसक्दैन नि । पार्टीको संरचनालाई स्वीकार गरिएन भने पार्टीका नीति र विधिहरुको पालना कसरी हुन्छ ?” उनले जिज्ञासा गरे । पार्टीको संरचना नीति स्वीकार गर्नुपर्छ उनले भने ।
पार्टी भनेको अनुशासनयुक्त हुन्छ । त्यसकारण सुदृढ अनुशासन पार्टीमा चाहिन्छ अध्यक्ष ओलीले भने, “जहाँ पनि अराजकतालाई कहीँ पनि एक इन्च अस्विकार गर्नुस् । एक इन्च पनि स्वीकार नगर्नुस् । हरेक ठाउँमा अस्विकार गर्नुस अराजकतालाई । जनवाद मात्रै बुझ्ने, केन्द्रीयतालाई नबुझ्नेले पार्टी बुझ्दैन ।” पार्टीको नीति, विधि, संगठन संरचनाभित्र नबाँधिएको मानिस पार्टी हुन नसक्ने उनले बताए ।