गोरखाका वृद्धा हत्याका तीन प्रतिवादी कारागार चलान



गोरखा,असोज २६ । सत्तरी वर्षीया वृद्धाको हत्याका तीन अभियोगी पुर्पक्षका लागि कारागार चलान भएका छन् । गोरखाको आरुघाट गाउँपालिका-१ श्यामचेतकी ७० वर्षीया वृद्धा सुनमाया लामाको हत्याका अभियोगीलाई जिल्ला अदालतको आदेशमा बिहीबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

कारागार चलान हुनेमा सोही ठाउँका २९ वर्षका कर्माछिरिङ लामा, १९ वर्षका साने भनिने सुपराज लामा र १९ वर्षकै अन्जय लामा गुरुङ छन् । गत भदौ २८ गते साँझ घरमा एक्लै भएको मौका छोपेर कर्मा र सुपराज मिलेर सुनमायाको हत्या गरेका थिए । अन्जयले भने हत्यापछि उनीहरु भगाउन भूमिका निर्वाह गरेको पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

हत्या भएको दुई दिनपछि भदौ ३० गते बिहान एककोठे कच्ची घरमा शङ्कास्पद अवस्थामा झुण्डिएको सुनमायाको शव फेला परेकाले आशङ्कामा प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा पक्राउ परेका उनीहरुले गरगहना लुटपाट गर्ने उद्देश्यले वृद्धाको हत्या गरेको खुलेको उनको भनाइ थियो ।

प्रहरी निरीक्षक शेखर खड्को नेतृत्वको टोलीले गरेको अनुसन्धानका क्रममा उनीहरुले भदौ २८ गते करिब साँझ ६ बजे सुनमायालाई घरमै घाँटीमा दुवैतिरबाट डोरीले कसेर हत्या गरी घटनालाई ढाकछोप गर्न घरभित्र कोठाको बलोमा मृतकको शव झुण्ड्याएको पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले उल्लेख गरे ।  

हत्यापछि कर्मा र सुपराजले मृतकको कानमा रहेको सुनका रिङसमेत लुटेर भागेका थिए । घटनाको अनुसन्धानपछि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत तिनै जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान कसुरमा मुद्दा दायर गरेको थियो । सोही क्रममा अदालतले घटनामा संलग्न सबैलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दियो ।

प्रतिक्रिया दिनुहोस्