इजरायलबाट विद्यार्थी आज ल्याइँदै, यस्तो छ उडान तालिका



काठमाडौ,असोज २५ । जरायलमा हमासले गरेको आक्रमणका कारण त्यहाँबाट स्वदेश फर्कन चाहेका विद्यार्थी बिहीबार आउने भएका छन्। नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बिहीबार बिहान २:३० बजे जाने भएका हुन् । उनीहरूलाई लिएर जहाज बिहीबार नै बेलुकी ८:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी छ ।

इजरायलका लागि नेपालका राजदूत कान्ता रिजालका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थी फर्काउन लागिएको हो। उनले स्वदेश फर्किन चाहनेको सङ्ख्या धेरै भएपछि पहिलो चरणमा विद्यार्थी मात्रै फर्काइने बताइन् । त्यसपछि क्रमशः श्रमिकलाई फर्काइने छ। 

बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले परराष्ट्रमन्त्री साउदको नेतृत्वमा उद्धार टोली पठाउने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताए। मन्त्री किरातीले यसरी इजरायलबाट फर्किने विद्यार्थीको हवाई टिकट सरकारले बेहोर्ने निर्णय गरेको उउनले जानकारी दिए।

नेपालबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका विद्यार्थी ल्याउने विशेष योजना हो। त्यसै कार्यक्रममा गएका १० जना विद्यार्थी भने हमासको आक्रमणमा परी दिवङ्गत भएका थिए। उनीहरूको शव भने उक्त विमानमा नल्याइने भएको छ। 

प्रतिक्रिया दिनुहोस्