निर्माणाधीन धरहराको अन्डरग्राउन्ड पार्किङ खुला, शुल्क तिर्न नपर्ने
काठमाडौं,असोज २५ । काठमाडौं महानगरपालिकाले दशैं, तिहार लगायतका ठूला चाडपर्वलाई लक्षित गरेर धरहराको अन्डरग्राउन्ड (भूमिगत) पार्किङ खुला गरेको छ । महानगरपालिकाले स्थानीय संकटा क्लब तथा अन्य क्लबहरूको व्यवस्थापनमा अस्थायीरूपमा धरहराको बेसमेन्टमा रहेको पार्किङ खुला गराएको हो ।
अस्थायीरूपमा चाडपर्वको लागि ५० हजार स्क्वायर फिटको क्षेत्रमा पार्किङ खुला गराइएको हो । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको बेसमेन्ट वा अन्डरग्राउन्डमा तीन तला पार्किङका लागि बनाइएको छ । हालको अवस्थामा चार सय ओटा गाडी र ७ सय ओटा मोटरसाइकल यहाँ अट्ने अनुमान छ ।
दशैंको समयमा सुन्धारा, भोटेबहाल, न्युरोड, असन लगायतका क्षेत्रमा किनमेलमा जानेहरूले पार्किङको समस्या भएको गुनासो गरेपछि महानगरले गत आइतवारबाट धरहराको भूमिगत पार्किङ निःशुल्क रूपमा खुला गरेको हो । अहिलेलाई अस्थायीरूपमा पार्किङ खुलाएको र निर्माण सम्पन्न भएपछि थप निर्णय हुने महानगरपालिकाले जनाएको छ ।