राष्ट्र बैङ्कको निर्णयले आर्थिक सुधारमा सहयोग पुग्ने : अर्थमन्त्री



चितवन,असोज २० । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैङ्कको बोर्डले बिहीबार अघि सारेको नीतिगत निर्णयले आर्थिक सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै मन्त्री डा. महतले आर्थिक सङ्कटको असर केही देखिए पनि त्यसको सुधारमा ब्याजदरको ठुलो भूमिका हुने भएकाले राष्ट्र बैङ्कको कदम आवश्यक रहेको बताए । 

“आर्थिक चलायमानमा ब्याजदरको ठुलो भूमिका हुन्छ । ऋण प्रवाह गर्ने सीमाहरूले ठुलो भूमिका खेल्छ । सेयर मार्केटले पनि गति दिने र नदिनेमा प्रभावित गर्छ,” मन्त्री महतले थपे, “राष्ट्र बैङ्कको बोर्डले जुन निर्णय गर्यो, त्यसले अर्थतन्त्रलाई गति दिन मद्दत गर्ने र देशको आर्थिक लय सकारात्मक बाटोमा जाने विश्वास लिएको छु । यसले अब गति लिन्छ ।” 

विगतमा ऋण प्रवाहमा बैङ्क तथा वित्तीय संस्थाहरूले सही नीति नलिँदा समस्या परेको उल्लेख गर्दै उनले अब ऋण प्रवाह गर्दा सही सदुपयोग गर्न आग्रह पनि गरे । 

“सहज तरिकाले ऋण पाउँदा त्यसलाई उत्पादनशील क्षेत्रमा लागु गरिएन । कहाँ परिणाम आउछ, कहाँ परिणाम आउँदैन भन्ने नहेरी ऋण लगानी गरिँदा अहिले समस्यामा परियो,” उनले भने, “अहिले कसिलो मौद्रिक नीति भएकाले ब्याज वढ्यो । उत्पादन नभई ब्याज बढेपछि केही व्यवसायीलाई असर गर्यो ।”

उनले व्यवसायीको समस्या समाधानका लागि ऋणमा पुनर्तालिकीकरण गर्न लागिएको जानकारी पनि दिए । उनले सेयर बजार, जग्गाको कारोबार तथा अन्य उत्पादनशील क्षेत्रमा राष्ट्र बैङ्कको निर्णयले अर्थतन्त्र चलायमानमा थप सहयोग पुग्ने विश्वास गर्दै बैङ्क तथा वित्तीय संस्थाहरू पनि आफ्नोतर्फबाट प्रतिस्पर्धी र पारदर्शी किसिमबाट चल्न जरुरी रहेको उनले बताए । “सामूहिक प्रयास र सकारात्मक माहोल भएमा मात्रै पनि अर्थतन्त्र सुधारिने छ,” उनले थपे, “नकारात्मक बहस र छलफलले अर्थतन्त्र सुधारमा बाधा परेको छ । त्यसलाई सुधार गर्नुपर्ने जरुरी देखिन्छ ।” 

प्रतिक्रिया दिनुहोस्