चापाकोट स्याङ्जाका सिनियर अहेबले गैरकानुनी रुपमा सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर
काठमाडौ,असोज २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा चापाकोट स्याङ्जाका सिनियर अहेब बिन्दु कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले कोइराला विरुद्ध ९० लाख ३९ हजार ६ सय २० रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ । सरकारी सेवामा प्रवेश गरेको मिति २०५४ कात्तिक ५ गतेदेखि २०७८ मङ्सिर १ गतेसम्मको कोइरालाले आर्जन गरेको सम्पत्तिको विषयमा आयोगले अनुसन्धान गरेको थियो ।
सो अवधिमा कोइरालाले २ करोड ९७ लाख ८१ हजार ८०२ रुपैयाँ बराबरको आय आर्जन गरेको पाइएको छ । सोही अवधिमा सिनियर अहेब कोइरालाले ३ करोड ८८ लाख २१ हजार ४२२ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको अनुसन्धानको क्रममा फेला परेको आयोगले जनाएको छ ।
कूल आयभन्दा खर्च तथा लगानी बढी रहेको तथा त्यसको स्रोतसमेत नखुलेको पाइएपछि आयोगले मिहिन रूपमा छानबिन गर्दा अनियमितता देखिन गएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।