कर्णाली करिडोरमा पाँच किमी ट्र्याक खोल्न बाँकी



काठमाडौं,असोज २०। राष्ट्रिय गौरवको कर्णाली करिडोर सडकमा झण्डै पाँच किमी सडकको ट्र्याक खोल्न बाँकी रहेको छ । 

कुल दुई सय ६८ किमी लम्बाइको सो सडकमा ट्र्याक खोल्न बाँकीमध्ये झण्डै साढे दुई किमीमा नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ । एक दशकपहिले सडक निर्माण शुरु भएकामा कठिन भूगोलका कारण अझैसम्म ट्र्याक नै खोल्न बाँकी रहेको उत्तर–दक्षिण करिडोर निर्देशनालयले जनाएको छ ।

कडा चट्टान भएका खण्डमा ‘ब्लाष्टिङ’ पनि लामो र झन्झटिलो प्रक्रिया रहेको योजनाले जनाएको छ । ब्लाष्टिङका लागि आवश्यक सामग्री सेनाबाट लिनुपर्ने हुँदा समय लाग्ने गरेको हिल्सा सिमिकोट सडक योजनाका प्रमुख वीरेन्द्रबहादुर चन्दले बताए । ‍ 

उनले भने, ‘रकम भुक्तानी गरेर ‘अर्डर’ गरेपछि पनि नेपालगञ्ज हुँदै निर्माणस्थलमा आइपुग्न लामोे प्रक्रिया हुने गरेको छ ।’ सिमिकोटभन्दा माथि मौसमका कारण चार महीना मात्रै काम गर्न सकिने उनले बताए । वर्षभरमा सात÷आठ महीनासम्म हिउँले ढाकिने हुने हुँदा त्योभन्दा बाहेकको समयमा मात्र निर्माण हुने गरेको उनले बताए ।  

कतिपय खण्डमा भने निर्माण व्यवसायीका कारणले ढिलाइ भएको पनि छ । ढिलाइका कारण निर्माण सामग्री उपलब्ध हुन कठिन हुनु र भौगोलिक कठिनाइ नै प्रमुख छन् । माथिल्लो भागमा सामान पहिले चीन भएर आउने गरेकामा कोभिडका कारण नाका बन्द थियो । त्यसले गर्दा पनि विगत वर्षहरूमा निर्माणले गति लिन नसकेको उनले बताए ।  

निर्माणाधीन खण्डमध्ये दुईदेखि साढे दुई किमी सडक यस वर्ष सेनाबाट हस्तान्तरण हुने प्रमुख चन्दले बताए । सेनाले जिम्मेवारी लिएको खण्डबाहेक अरुतिर ट्र्याक खोल्न ठेक्का भइसकेको छ । माथिल्लो क्षेत्रमा ट्र्याक पनि खुलिसकेको र हुम्लाभन्दा तल्लो क्षेत्रमा मात्रै दुई ठेक्का बाँकी रहेको प्रमुख चन्दले बताए ।  

त्यसमा नै अलिअलि कम ब्लाष्टिङ गर्नुपर्ने हुँदा काम अघि बढेको छैन । त्यो खण्ड पनि सेनालाई दिने कुरा भइरहेको उनले बताए । उनले भने, ‘सरिसल्ला सिमिकोट खण्डमा ठाउँठाउँमा गरेर दुईदेखि साढे दुई किमी बाँकी छ ।’ स्तरोन्नतिका लागि माथिल्लो भागमा ठेक्का चालु रहेको उनले जानकारी दिए ।  

सरिसल्लाबाट सिमिकोट खण्डमा ट्र्याक नै खोल्न बाँकी छ । खुलालुदेखि सरिसल्लासम्म स्तरोन्नतिको काम भइरहेको योजनाले जनाएको छ । यस वर्ष पनि स्तरोन्नतिका लागि ठेक्का हुने उनले बताए । यस वर्ष ग्राभेल गरिने योजनाको तयारी छ । 

प्रतिक्रिया दिनुहोस्