मथिल्लो मैलुङ खोलाको आईपीओ सर्वसाधारणलाई खुल्यो
नुवाकोट,असोज १८ । मथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सर्वसाधारणलाई आज असोज १८ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले सर्वसाधारणलाई १२ लाख ८४ हजार २ सय कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य प्रति कित्ता १ सय रुपैयाँ मै शेयर निष्काशन गर्न लागेको छ ।
यस निष्काशनमा असोज २२ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
कम्पनीले यस अघि नै आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरिसकेको छ ।
यो सानिमा समूह अन्तर्गतको कम्पनीको हो । कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले २०९० साउन १५ बाट ब्यारिक उत्पादन थाल्ने लक्ष्य राखेको छ ।आयोजनाको कुल लागत २ अर्ब ५० करोड अनुमान गरिएको छ ।
प्रति मेगावाट लागत भने १७ करोड ४८ लाख अनुमान गरिएको छ । हाल कम्पनीको चुक्ता पुंजी ७० करोड रहेको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब पुग्ने छ ।