पञ्चकन्याका नागरिकलाई पालिकाको पुरानो अस्थायी भवनबाट स्वास्थ्य सेवा सुरु
नुवाकोट,असोज १८ । जिल्लाको पञ्चकन्या गाउँपालिकाले पालिकाको पुरानो अस्थायी भवनबाट नागरिकलाई स्वास्थ्य सेवा सुरु गरेको छ ।
गाउँपालिकाकै पालिका स्तरीय १० शय्याको अस्पताल निर्माणका चरणमा रहेकाले खाली रहेको पुरानो प्रशासनिक भवनलाई प्रयोगमा ल्याएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताए ।
कुल १२ करोड लगानीमा पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ घले भञ्ज्याङ् मा नयाँ अस्पताल निर्माणको चरणमा रहेको छ । सो भवन निर्माण सम्पन्न हुन झण्डै ६/७ महिना लाग्ने भएकाले नागरिकलाई अत्यावश्यक स्वास्थ्य सेवा दिलाउन लागेको अध्यक्ष तामाङ बताउँछन् ।
सेवा सुचारु कार्यक्रममा गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङ, उपाध्यक्ष विमला के.सी, पञ्चकन्या गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक रामबाबु पराजुली, प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्ले, विभिन्न वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्य, गाउँसभासदस्य, संधसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी एंव गाउँवासीको उपस्थिति रहेको थियोे ।