जम्मा १२ रोपनीमा कृषि, वार्षिक १५ लाखसम्म कमाई, प्रविधिको प्रयोग गर्दा आम्दानी दोब्बर 



बागलुङ,असोज १४ । जिल्लाका किसानले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाएका छन् । हाइटेक टनेल, थोपा सिँचाइ र मल्चिङ प्रविधिमार्फत किसानले कृषिजन्य वस्तुको उत्पादन र आम्दानी दुवै बढाउन सफल भएका हुन् । 

आधुनिक प्रविधिको प्रयोग गर्दै आम्दानी बढाउनेमा किसान त्रिलोचन सापकोटा पनि हुन । ३ दशकभन्दा बढी समयदेखि कृषि पेशामा सक्रिय बागलुङ नगरपालिका–४ ढोडेनीका सापकोटाले प्रविधिको प्रयोगपछि आम्दानी दोब्बर भएको अनुभव सुनाए । उनले हाल १२ रोपनी जग्गामा नौवटा हाइटेक टनेलमा खेती गरिरहेका छन् । 

सापकोटाले प्रत्येक प्लाष्टिक टनेलमा थोपा सिँचाइ र मल्चिङ प्रविधि पनि अपनाका छन् । उनले कालीगण्डकी पशुपालन तथा कृषि फार्म कम्पनी अन्तर्गत गाईभैँसीको पिसाबलाई शुद्धीकरण गरी प्लाष्टिक टनेलसम्म पुर्‍याउने व्यवस्था मिलाएका छन्। ‘व्यवासयिक कृषि र पशुपालन ३२ वर्षदेखि गरिरहेको छु, तर पछिल्लो ५ वर्षयता मात्रै कृषिमा आधुनिक प्रविधिको प्रयोग शुरूगरेपछि वार्षिक आम्दानीमा दोब्बर भएको छ”, सापकोटाले भने, १२ रोपनी जग्गामा ९ ओटा प्लाष्टिक हाइटेक टनेल र अन्य खाली जग्गामा तरकारी खेती गरिरहेको छु ।” 

उनले तीनवटा भैँसी र एउटा गाईबाट उत्पादन हुने दैनिक २५ लिटर दूध बिक्री गरिरहेका छन् भने एक रोपनी क्षेत्रफलमा स्थानीय जातको माछापालन गरिरहेका छन् । ‘गत जेठमा मात्रै २ लाख रुपैयाँको टमाटर बिक्री गरेँ, यो प्रविधिको प्रयोग शुरू गरेपछि यति राम्रो आम्दानी सम्भव भएको हो”, उनले सुनाए । उनले दुई जनालाई नियमित र अन्यलाई ज्यालादारीमा जागिर पनि दिएका छन् । 

‘प्रविधिकै कारण मौसमी र बेमौसमी तरकारी, काँक्रो, टमाटर, माछा र दूध बिक्रीबाट वार्षिक रु १५ लाखसम्म आम्दानी भइरहेको छ”, उनले भने, ‘यही कमाइबाट तीन जना छोरालाई उच्च शिक्षासम्म पढाउन सकेँ ।” उनका एक छोरा अहिले अमेरिका र एकजना अष्ट्रेलिया हुन । 

‘पशु र बालीमा कुनै रोगको सङ्क्रमण नभए आम्दानी राम्रो हुन्छ, सरकारी निकायबाट अनुदान र प्राविधिक सहयोग पनि प्राप्त भइरहेको छ”, उनले भने, ‘तलब, ज्याला, मल, बीउलगायतमा वार्षिक ५ लाख खर्च भए पनि रु १० लाख बचत हुन्छ ।” उनले यतिबेला कृषि फार्म बिस्तारको योजना बनाइ रहेका छन् । फार्मलाई पूर्णरुपमा विषादीमुक्त बनाउने योजना अनुसार गाईभैँसीको पिसाबलाई शुद्धीकरण गरी तरकारी बालीमा प्रयोग गरिरहेको उनको भनाइ छ । 

फार्म सञ्चालनका लागि साढे तीन रोपनी आफ्नै जग्गा छ । बाँकी जग्गाका लागि वार्षिक रु ८० हजार भाडा तिर्दै आएका छन् । काउली, बन्दा, सिमी, साग, टमाटरलगायतका तरकारी उत्पादन गर्दै आएका सापकोटाको मुख्य आम्दानी भनेको टमाटर भएको उनले बताए। 

सापकोटालाई श्रीमती चित्रकुमारी र कान्छा छोरा सागरले पनि सहयोग गर्दै आएका छन्। सापकोटा सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाको नेतृत्वमा पनि छन् । निरन्तरको कृषि लगावका कारण आफूले सफलता पाएको भन्दै सापकोटाले कृषिमा धैर्यता आवश्यक रहेको बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्