अर्थमन्त्री महतले ठोकुवा गरेझैँ किन बढेन घर जग्गा कारोबार ? कित्ताकाटको परिणाम अब देखिएला ?
काठमाडौं,असोज १२ । अर्थमन्त्री डा. प्रकाश शरण महतले केही हप्ता अघि मात्रै एक सार्वजनिक कार्यक्रममा घर जग्गा कारोबार बढ्ने ठोकुवा गरे ।गत भदौ २६ गते नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘नाडा अटो शो २०२३’ को उद्घाटन गर्दै अर्थमन्त्री महतले उक्त अभिव्यक्ति दिएका थिए । ।
अर्थतन्त्रमा सुधार हुँदै आएको र कित्ताकाट पनि खुला भएकाले घर जग्गा कारोबारले गति लिने उनको तर्क थियो । तर, मन्त्री महतले ठोकुवा गरेझैँ घर जग्गा कारोबार भने बढ्न सकिरहेको छैन । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिना अर्थात् साउन र भदौमा कुल ७४ हजार ९४९ वटा घर जग्गा किनबेच भएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार साउनको तुलनामा गत भदौमा घर जग्गा कारोबार झ्न घटेको छ । समीक्षा महिनामा घर जग्गा किनबेच ९.११ प्रतिशतले घटेको हो । विभागको तथ्याङ्क अनुसार गत साउनमा देशभरका मालपोत कार्यालयबाट ३९ हजार २६३ वटा घर जग्गा खरिदबिक्री भएको थियो । तर, भदौमा भने ३ हजार ५७७ ले कमी आई देशभर ३५ हजार ६८६ वटा मात्रै घर जग्गा किनबेच भएको देखिन्छ ।
यद्यपि, सरकारले अर्थतन्त्र चलायमान बनाउने भन्दै एक महिना अघि अर्थात् साउन मसान्तदेखि कित्ताकाट खुला गरेको थियो । सो निर्णयसँगै घर जग्गा कारोबार निकै बढ्ने आशा गरिएको थियो । सरकारले कित्ताकाट खुलाउने निर्णय गरेकै महिनामा घर जग्गा कारोबारले गति लिन नसकेको हो । झन् कित्ताकाट खुला गरिएकै महिनामा कारोबार खस्किएको छ । अर्थमन्त्री महतले पनि कित्ताकाट खुलेकाले घरजग्गा कारोबार चलायमान हुने ठोकुवा गर्दै आएका थिए । नाडा अटो शोमा मन्त्री महतले भनेका थिए,–‘आर्थिक गतिविधिहरू बढ्ने आधार तय भएका छन् । अर्थतन्त्र सुधार हुँदै गएको छ । अब घर जग्गा कारोबार चलायमान हुन्छ।’
सोही कार्यक्रममै उनले जग्गामा अत्यधिक लगानी भएकै कारण पनि अर्थतन्त्र समस्या परेको पनि बताएका थिए । एउटा जग्गा चाहिनेले लगानीकै रूपमा १० वटा जग्गा किनेर राख्ने प्रवृत्तिले अर्थतन्त्रमा समस्या ल्याएको उनको दाबी थियो । तर, पछिल्लो समय अर्थतन्त्र सुधारको बाटोमा रहेको उनले बताए । अर्थतन्त्रले सुधारको लय समातेको र कित्ताकाट पनि खुला गरिएकाले नै घर जग्गा कारोबार बढ्ने उनको विश्वास थियो । तर, अर्थमन्त्री महतले दाबी गरे झैँ अर्थतन्त्र सुधारको बाटो पनि देखिँदैन । बाह्य क्षेत्रमा केही सुधार देखिन्छ । तर, आन्तरिक अर्थतन्त्रमा भने उस्तै समस्या छ । केही बाहेक अर्थतन्त्रका सबै सूचक नाजुक नै देखिन्छन् । यता, घर जग्गा कारोबार पनि उनकै दाबी अनुसार बढ्न सकिरहेको छैन ।
अब फस्टाउँला त घर जग्गा कारोबार ?
विशेषगरि कित्ताकाट, बैङ्क तथा वित्तीय संस्थाहरूको तरलता अभाव र ब्याज वृद्धि लगायतले नै घर जग्गा कारोबारले गति लिन नसकेको हो । यद्यपि, पछिल्लो समय बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम बढी रहेको छ । तर, कर्जाको माग बढ्न सकेको छैन । खरिदबिक्रीकर्ताहरुले घरजग्गामा लगानी गर्न डराइरहेको अवस्था छ । उनीहरूले बैङ्कबाट ऋण लिएर घर जग्गामा सहज रूपमा लगानी गर्न नसकिरहेको देखिन्छ । यसले बैङ्क तथा वित्तीय कम्पनीहरूबाट कुनै पनि क्षेत्र प्रवाह हुने कर्जाले गति लिन नसकेको अवस्था छ ।
यता, व्यवसायीहरूले सरकारले कित्ताकाट सहज बनाउन गरेको निर्णयपछि घर जग्गा कारोबार बढ्ने आशा थिए । सरकारको कित्ताकाट फुकुवा गर्ने निर्णयले आगामी दिनमा घर जग्गा कारोबारमा उत्साह आउने विश्वास लिइएको थियो । तर, पनि कारोबारमा भने गिरावट देखिएको हो । यद्यपि, कित्ताकाटको परिणाम देखिन अझै केही समय लाग्ने जानकारहरू बताउँछन् । एक व्यवसायीले भने,– ‘कित्ताकाटको परिणाम देखिन अझै केही समय लाग्छ । पहिले भन्दा घर जग्गा कारोबार थप बढ्छ । साउन मसान्तमा त हो कित्ताकाट खुलेको, अब बिस्तारै बढ्छ भन्ने आशा छ ।’
सहज रूपमा कित्ताकाट हुन नसक्दा नै घर जग्गा कारोबारले गति लिन नसकेको उनले बताए । ‘सरकारले भू–उपयोगसम्बन्धी पहिलो संशोधन नियमावली–२०७९ लाई स्वीकृत गर्दै कित्ताकाट खुला गरेको थियो । तर, सो निर्णय सहज रूपमा कार्यान्वयन हुन् नसक्दा सकिरहेको छैन, त्यसले गर्दा कारोबार बढ्न सकिरहेको छैन, अब बिस्तारै यसको परिणाम देखिन्छ’– उनले भने ।
पछिल्लो समयमा बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम बढी रहेको छ । यता, कर्जाको ब्याजदर पनि तुलनात्मक रूपमा घटेको छ । पछिल्लो समय बैङ्कहरूले घर जग्गा कर्जामा लगानी बढाउन विभिन्न स्किम समेत ल्याएका छन् । यसले घर जग्गा किनबेच गर्न थप प्रोत्साहन गरिरहेको छ, जसले आगामी दिन घर जग्गा कारोबार बढ्ने विज्ञहरू बताउँछन् । ‘बैङ्कहरूले पनि घर जग्गा कर्जालाई प्राथमिकतामा राख्न थालेका छन् । बैङ्किङ प्रणालीमा लगानीयोग्य रकम पनि बढी रहेको छ । कर्जाको ब्याजदर क्रमिक रूपमा घटेको पाइन्छ । जसले आगामी दिनमा घर जग्गा कारोबार बढ्न पुगेको देखिन्छ’– एक अधिकारीले बताए ।
कित्ताकाट खुल्नु, बैङ्कहरूले लगानी बढाउन विभिन्न स्किम ल्याउनु जस्ता कारण पनि घर जग्गा खरिदबिक्रीकर्ताको मनोबल बढेको पाइन्छ । तर, यसअघि आर्थिक मन्दी, उच्च ब्याजदर, महँगी लगायत पनि लगानी गर्न डराइरहेको थिए । आर्थिक सङ्कटले नै उक्तपोक्ताको क्रय शक्ति घटेको थियो, त्यस्तो अवस्थामा बैङ्कबाट कर्जा लिएर घर जग्गामा लगानी गर्ने सक्ने अवस्था पनि थिएन । तर, अहिले वातावरण अहिले सहज देखिन्छ । त्यसले पनि खरिदबिक्रीकर्तालाई थप प्रोत्साहन गरेको छ ।