दैनिक सुन आयातको कोटा दाेब्बर, अब २० किलो आयात गर्न पाइने
काठमाडौं,असोज ११ । नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको सीमा बढाएको छ । बुधवार एकीकृत परिपत्र–२०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
उक्त परिपत्रमा सुन आयात तथा विक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को दफा ४ (क) बमोजिम आयात गर्न सकिने सुनको दैनिक परिणाम २० किलोग्राम कायम गरिएको उल्लेख छ । याे यसअघिको कोटाभन्दा दोब्बर हो ।
यसअघि दैनिक सुन आयातको कोटा १० किलोग्राम सीमित थियो । कोरोना महामारीपछि विश्व बजारमा अर्थतन्त्र शिथिल भएपछि विदेशी मुद्राको सञ्चिति जोगाउन राष्ट्र बैंकले २०७८ फागुनमा परिपत्रमार्फत दैनिक सुन आयातको कोटा १० किलोग्राममा सीमित गरेको थियो ।
त्यसयता सुन व्यवसायीहरूले उक्त कोटाबाट माग धान्न नसकिएको भन्दै सुन आयातको सीमा बढाउन सरकारलाई दबाब दिँदै आएका थिए ।
राष्ट्र बैंकले तोकेको कोटा अनुसार वाणिज्य बैंकहरूले सुन आयात गरी व्यवसायीहरूलाई विक्री वितरण गर्दै आइरहेका छन् ।