राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक



काठमाडौं,असोज ९ । नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक गरेको छ । 

राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले १० ग्राम र २५ ग्रामका चाँदीका मेडालियन  सिक्काहरू सार्वजनिक गरे । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ ।

यससँगै उक्त सिक्काहरू टकमरी गरी विक्री वितरण पनि शुरु गरिएको छ । १० ग्राम सिक्काको रु. १ हजार ६०० र २५ ग्राम सिक्काको रु.४ हजार मूल्य तोकिएको छ ।  

बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको टक्सार महाशाखाले जानकारी दिएको छ । दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ । 

सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।

बैंक सञ्चालक समितिको २०८० जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो । 

प्रतिक्रिया दिनुहोस्