भारत एसिया कपको फाइनलमा
एजेन्सी,भदौ २७ । भारत एसिसी एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न सुपर चारको खेलमा भारतले श्रीलङ्कालाई ४१ रनले हराउँदै उपाधि नजिक पुगेको हो ।
भारतले सुपर चारमा एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो । सुपर चारमा लगातार दोस्रो जित निकालेको भारतले चार अङ्क बनाएको छ ।कोलम्बोस्थित आर प्रेमादाशा क्रिकेट रंगशालमा जितका लागि भारतले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको श्रीलङ्का ४१.३ ओभरमा एक सय ७२ रनमा समेटिएको थियो ।
श्रीलङ्काका लागि दुनिथ वेलालागेले ४६ बलमा तीन चौका र एक छक्काको सहयोगमा अविजित ४२ रन बनाए । धनञ्जय डी सिल्भाले ४१, चरिथा अस्लंकाले २२, सदिर समराविक्रमाले १७ र कुशल मेन्डिसले १५ रन बनाए ।
बलिङमा भारतका कुलदीप यादवले चार विकेट लिए । रवीन्द्र जडेजा र जस्प्रित बुमराहले दुई दुई तथा हार्दिक पाण्डेय र मोहम्मद सिराजले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ४९.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १३ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले ४८ बलमा सात चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ५३ रन बनाए । केएल राहुलले ३९, इशान किशनले ३३, अक्षर पटेलले २६ र शुभमन गिलले १९ रन जोडे ।
बलिङमा श्रीलङ्काका दुनीथ वेलालागेले पाँच विकेट लिए । चरिथ अस्लंकालले चार र महेश थिक्क्षनाले एक एक विकेट लिए । बंगलादेब सुपर चारबाट बाहिरिएको छ । अब सुपर चारमा श्रीलङ्का र पाकिस्तानबिचको विजेता टोली फाइनलमा पुग्नेछ ।