रेबिजविरुद्धको भ्याक्सिन अभाव
रुपन्देही,भदौ २२ । रुपन्देहीको भैरहवास्थित जिल्ला भीम अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन अभाव भएको छ । कुकुरले टोकेर उपचारका लागि दैनिक ३० देखि ४० जनासम्म बिरामी आउने गरेको भीम अस्पतालमा भ्याक्सिन उपलब्ध छैन ।
सरकारीस्तरबाट निःशुल्क उपलब्ध गराइने उक्त भ्याक्सिन अस्पतालमा एक हप्तादेखि सकिएको हो । भ्याक्सिन नपाउँदा विपन्न वर्गका बिरामीलाई समस्या भएको छ ।
अस्प्तालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नुरुल होदाले आवश्यकता अनुसार भ्याक्सिन उपलब्ध गराउन महामारी तथा रोग नियन्त्रण महाशाखासमक्ष माग गरिएको जानकारी दिए । उनले खरिद प्रक्रिया असहज भएकाले महाशाखाबाट उपलब्ध हुन नसकेको बताए । अहिले यो समस्या मुलुकभरि नै भएको उनको भनाइ छ ।